काठमाडौँ। मंसिरको चिसो रात, बौद्धको प्रतीक्षालयमा वीरबहादुर दर्जी सुतिरहेका थिए। चिसो हावा, रातको सन्नाटोमा प्रतीक्षालय वरिपरि मानिसहरूको हलचल कम देखिन्थ्यो। दिनभरि मागेर पेट पाल्नुपर्ने अवस्था थियो। रात परेपछि कहिलेकाहीँ आफन्तको कोठामा पुगेर सुत्नु, यही उनको जीवनको वास्तविकता थियो।
वीरबहादुरको अनुहारमा थकान छ। आँखा कहिलेकाहीँ खाली ठाउँतर्फ दौडिन्छन् तर मनमा अझै जिन्दगीको आशा टाँसिएको छ। मानसिक रूपमा पूर्ण स्वस्थ भए पनि आधा शरीरले साथ छोडिसकेको छ। ६ वर्षअघि उच्च रक्तचापको आघातले उनको बाँया हातखुट्टा काम गर्न छोडेको थियो। ह्वीलचेयरको सहारामा उठबस गर्नुपर्ने अवस्था आएपछि उनी अरूको पूर्ण सहयोगमा निर्भर बने।
शरीर कमजोर भएपछि घरमा पनि उनी बोझ जस्तो महसुस गर्न थाले। श्रीमतीले उनलाई हेर्नुपर्ने थियो, तर “यस्तो भएर बाँच्नुभन्दा मरेकै राम्रो” भन्ने वचनले उनको मनमा घाउ बस्यो। परिवारको भार भएको महसुस गर्दै उनी घर छाडेर काठमाडौँ आए। उपचार गर्ने बहाना बनाउँदै करिब दुई महिना अघि राजधानी आए, तर यहाँ आएर पनि उनको जीवन सहज भएन।
वीरबहादुरले १६ वर्ष नेपाल प्रहरीको हल्दारका रूपमा सेवा गरेका थिए। २०५३ सालमा द्वन्द्वकालीन समयमा जागिर छाडेका उनी मकवानपुरको बकैयाँ गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। उनी श्रीमतीसहित ४ छोरी र ६ छोराका पिता हुन्। १० सन्तान भए पनि जीवनले उनलाई एक्लोपनमा थन्काइदियो। परिवार भए पनि देखिने सहयोग पर्याप्त थिएन। उनको मनमा एक्लोपनको पीडा गहिरो थियो।
दिनभरि प्रतीक्षालय वरिपरि बस्दा उनी आफूलाई बेवारिसे जस्तो महसुस गर्थे। एक छोराले दुबईमा रोजगारी गर्छन् भने अर्को छोरा काठमाडौँको धापासीमा बस्छन्। तर उनलालाई कसैले पनि पूर्णरूपमा हेरचाह दिन सकेनन्। वीरबहादुर साहराविहीन बने। उनी भन्छन्, “सबै थोक भएर पनि अन्तमा म एक्लै भएँ।”
शारीरिक कमजोरी, आर्थिक अभाव र सामाजिक समर्थनको कमीले उनलाई अझ कमजोर बनायो। सरकारले उनलाई अपाङ्गता वर्गको रातो कार्ड उपलब्ध गराएको छ, जसको आधारमा मासिक ४ हजार रुपैयाँ प्राप्त हुन्छ। तर यही रकमले दैनिक खर्च चलाउन पर्याप्त थिएन। अपांगता र एक्लोपनले उनलाई सामाजिक जीवनबाट अलग बनाइसकेको थियो।
मंसिर १९ गते बौद्धस्थित प्रतीक्षालयमा अलपत्र अवस्थामा भेटिएपछि मानवसेवा आश्रमले प्रहरीको पहलमा उनलाई उद्धार गर्यो। उद्धार पश्चात आश्रममा उनलाई सुरक्षा, उपचार, खानपिनको सुविधा उपलब्ध भयो। ह्वीलचेयरमा बस्दा होस् वा ओछ्यानमा, हरेक गतिविधिमा सहयोग पाउँदा उनको अनुहारमा केही सहजता फर्किएको छ। अब उनले दिनभरि प्रतीक्षालयमा भोको पेट पाल्न मागी खानु पर्ने बाध्यता हटेकाे थियाे।
वीरबहादुरको जीवनले एउटा गहिरो सत्यता देखाउँछ, रोगले शरीर मात्र नभई सामाजिक दृष्टिले पनि मानिसलाई कमजोर बनाउँछ। अपांगता, एक्लोपन र परिवारिक दूरीले जीवनलाई कति कठोर बनाउन सक्छ भन्ने उनको अनुभवले देखाउँछ। तर मानसेवाकाे सहयोगले जीवनमा आशाको किरण ल्याउन सक्छ भन्ने पाठ पनि वीरबहादुरको कथामा छ।
वीरबहादुरको कथा केवल व्यक्तिगत पीडाको कथा होइन। यो अपांगता, सामाजिक असुरक्षा, परिवारिक बोझ र उद्धारको कथा हो। आश्रममा उनी अहिले सुरक्षित छन्, तर उनको मन घर, परिवार र सम्झनामा बाँधिएको छ। उनी फेरि घर फर्कने, आफ्ना सन्तानसँग केही समय बिताउने सपना देख्छन्। “म आफ्नो परिवारसँग केही समय बस्न चाहन्छु,” उनी बारम्बार भन्छन्।