काठमाडौँ। सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार तथा पारिवारिक पुनर्मिलनमा सक्रिय मानवसेवा आश्रमले सञ्चालन गरेको ‘कोशी प्रदेश सहयोगापेक्षी सडकमानव उद्धार यात्रा–२०८२’ अन्तर्गत १३ जना सडकआश्रित पुरुषको उद्धार गरेको छ।
जसमध्ये संखुवासभाबाट ४ जना, इलामबाट ३, धनकुटाबाट ३ जना तथा झापा, सोलुखुम्बु र उदयपुर जिल्लाबाट समान १/१ जनाको उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरूमध्ये ८ जनालाई आश्रमको कोशी प्रदेशअन्तर्गत विराटनगर शाखा, ४ जनालाई झापा शाखा र १ जनालाई धरान शाखाकाे संरक्षणमा राखिएको आश्रमले जनाएको छ।
कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, तेहथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्ग र सोलुखुम्बु जिल्लाका विभिन्न क्षेत्रमा बेवारिसे अवस्थामा कष्टपूर्ण जीवनयापन गरिरहेका सडकमानवहरूको उद्धार गरिएकाे हाे ।
उद्धार यात्रा फागुन ३ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको थियो। यात्राका क्रममा उद्धार टोलीले विभिन्न जिल्लाका प्रमुख, स्थानीय तह, सुरक्षा निकाय प्रमुखसँगै तथा सरोकारवाला निकायसँग सहयोगापेक्षी सडकआश्रितमुक्त कोशी प्रदेश निर्माणका विषयमा विचार विमर्श समेत गरेकाे थियाे ।
सोही अभियानमार्फत खुला सडकपेटी तथा सार्वजनिक स्थलमा जाेखिमपूर्ण जीवनयापन गरिरहेका वास्तविक सहयोग आवश्यक परेका व्यक्तिहरूलाई उद्धार गरी संरक्षण प्रदान गर्दै आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश नेपाल घोषणा गर्ने लक्ष्यसहित अभियानलाई तीव्रता दिएको छ।