काठमाडौँ। रामेछापका ५४ वर्षीय नखतबहादुर लामा मानवसेवा आश्रममा बस्न थालेको छ महिना पुगेको छ। बिहीबार आश्रमको एक कुनामा टोलाउँदै बसेका उनी आफ्नो पीडादायी विगत सम्झिँदै जीवनका उतारचढाव सुनाइरहेका थिए।
सानै उमेरमा आमाबुवा दुवै गुमाएपछि उनी एक्लो बने। न त राम्रो रेखदेख पाए, न त पर्याप्त पालनपोषण। आफन्तहरू थिए, तर आफ्ना जस्ता थिएनन्। जसोतसो उनको बाल्यकाल रामेछापमै बित्यो। कसैको घरमा सानोतिनो मेलापातको काम सघाउँदै हुर्किएका उनी किशोरावस्थामा प्रवेश गरेपछि कामको खोजीमा काठमाडौँ झरे। धेरै संघर्षपछि ज्यामी काम पाएर दिनचर्या चलाउन थाले।
ज्यामी कामको आम्दानीले खानबस्न धौ भएपछि उनले थोरै रकम बचत गरे। राम्रो भविष्यको आशामा वि.सं २०७२ सालमा सेक्युरिटी गार्डको काम गर्ने भन्दै एक म्यानपावर कम्पनीलाई २ लाख १५ हजार रुपैयाँ बुझाएर उनी मलेसिया उडे। तर म्यानपावरले भनेअनुसारको काम नदिई माछा छोप्ने काम लगाएपछि उनले आफू ठगिएको महसुस गरे। सेक्युरिटीमा भनेर गएका उनीकाे अरू काममा मन बस्न सकेन । उनले काम छाडे र अवैधानिक रूपमा बस्दै अरू काम गर्न थाले। सोही क्रममा प्रहरी,ले उनका कागजात नियन्त्रणमा लियो।
केही समयपछि कागजात फिर्ता पाएर पुनः भिसा मिलाएर उनी फेरि काममा फर्किए। उच्च रक्तचापको औषधि सेवन गर्दै आएका उनले एक दिन औषधि खान बिर्सिँदा अचानक प्यारालाइसिसको सिकार बने। जीवन बीमाका आधारमा केही उपचार भए पनि पूर्ण रूपमा निको नभएपछि कम्पनीकै खर्चमा उनलाई काठमाडौँ फर्काइयो।
फिजियोथेरापीका लागि उनलाई स्पार्क हेल्थ होम अस्पताल पुर्याइयो। केही सुधार त देखियो, तर पूर्ण रूपमा स्वास्थ्य हुन सकेनन्। हालसम्म पनि उनको बायाँ हात र खुट्टा चल्दैनन्। समस्यासँग जुध्दै जाँदा जीवनका सुनौला वर्षहरू कसरी बिते, उनलाई थाहै भएन। विवाह गर्ने रहर सबैलाई हुन्छ, तर निरक्षर र सामान्य ज्यामी काम गर्ने आफूजस्तो व्यक्तिसँग कसले बिहे गर्ने आँट गर्थ्यो र ? भन्दै उनी भावुक बने। “एकबारको जुनीमा बिहे गर्न मन नहुने कसलाई होला र ? तर नियतिमा जे लेखिएको छ, त्यही भोग्नुपर्ने रहेछ,” भन्दै उनले चित्त बुझाउने प्रयास गर्छन्।
स्पार्कमा उपचारपछि आर्थिक अभावका कारण उनी फेरि मागेर खान बाध्य भए। यही क्रममा सहयोगापेक्षी र बेसहारा व्यक्तिहरूका लागि मानवसेवा आश्रम रहेको जानकारी पाएपछि अरूको सहयोगमा उनी आश्रम आइपुगे। “अब के गर्ने, कहाँ जाने केही थाहा छैन। नियतिमा जे लेखेको छ, त्यही भोग्नुपर्छ,” भन्दै उनी आश्रमलाई नै आफ्नो घर मानेर दिन बिताइरहेका छन्।