काठमाडाैँ । ७१ वर्षीय अमुल शाक्य जाे काठमाडौँका रैथाने बासिन्दा हुन्। उनी जीवनका अप्रत्याशित मोडहरूबाट धाेका खाँदै आश्रमसम्म आइपुगेकाे करिब एक वर्ष भयाे । सडकपेटीमा बेवारिसे बाँचिरहेका उनीलाई उद्धार गरी मानवसेवा आश्रम रानीवनकको संरक्षणमा राखिएकाे छ । घर, परिवार र सन्तान हुँदाहुँदै पनि आज उनी आश्रमको शरणमा पुगेका हुन्।
अमुलका दुई छोरा र श्रीमती छन्। तर उनीहरू कहाँ छन् भन्ने कुरा उनी आफैंलाई थाहा छैन। उनी भन्छन्, “श्रीमती सधैँ घर छोड्ने धम्की दिन्थिन्, अन्ततः एकदिन दुवै छोरासहित घर छोडेर गइन्। साँझ काम सकेर फर्कँदा कोठामा ताला लागेको थियो। छिमेकीले भने, अब नआउने गरी गइन्।’ त्यही दिनदेखि उनकाे जीवनले नयाँ मोड लियाे।”
काठमाडौँको पुरानो घर बेचेर नयाँ घर किन्ने सल्लाह जेठा छोरा अनिलले दिएका थिए। करिब १ करोड २० लाख रुपैयाँमा घर बिक्री गरी सम्पत्ति छोराको नाममा नामसारी भयो। त्यसपछि परिवारसहित उनी भाडाको घरमा बस्न थाले। तर २०७६ सालमा श्रीमती र छोराहरू घर छोडेर गएपछि अमुल पूर्ण रूपमा एक्लिए।
“खान नपाएर, भोकै पाँच वर्ष बिताएँ,” उनी भन्छन्। भद्रकाली मन्दिर वरिपरि बसेर धेरै रातहरू मागेर बिताएका ती दिनहरूको सम्झना उनलाई अझै पीडादायी लाग्छ।
अमुलको विगत भने फरक थियो। २०४६ सालमा पाटनकी ज्ञानीशोभा शाक्यसँग मागी विवाह गरेका उनी दुई छोरा र एक छोरीका पिता बने। काठमाडौँमा सम्पन्न जीवन बिताउने उनी अहिले आश्रममा रहँदै आएका छन् । छोरी वैदेशिक रोजगारीका क्रममा विदेश गएकी थिइन्, तर त्यही वर्ष उनकी छोरीको मृत्यु भयो र श्रीमतीले पनि घर छोडिन्। त्यसपछि अमुल पूर्ण रूपमा बिचलित भए।
अन्ततः काठमाडौं महानगरपालिका–२१ का वडाध्यक्ष उदय चूडामणि बज्राचार्यले लगनटोल क्षेत्रमा अलपत्र अवस्थामा देखेपछि प्रहरी समन्वयमा उद्धार गरी मानवसेवा आश्रम रानीवनमा संरक्षणको व्यवस्था गरिएको हो।
अमुल भन्छन्, “दुई छोरालाई राम्रो शिक्षा र संस्कार दिएको थिएँ, तर किन यस्तो भयो बुझ्न सकेको छैन। घर भएर पनि सडकपेटीको बास भयो, परिवार भएर पनि निरिहजस्तै बनेँ।”
उनका छोरा अनिल र अमिर हाल करिब ३३ र २७ वर्षका भए। छाेराहरूलाई राम्रै शिक्षा र पालनपाेषण गरेका उनी छाेरा सम्झँदा पनि उनी अझै छोराहरू फर्किने आशा मनमा पालिरहेका छन्।अमुलका आमाबुबा छैनन्। एक दिदी र एक बहिनी काठमाडौँमै भए पनि उनीहरूलाई अहिलेको स्थिति थाहा छैन् ।
उमेरले ७१ पुगेका अमुल शाक्य अहिले मानवसेवा आश्रममा सुरक्षित छन्। उनी भन्छन्, “अब यो उमेरमा कहाँ जाने? बाहिर गएर काम गर्न सक्दिनँ। यतै बस्छु, कम्तीमा सुरक्षित छु।”
अमुलको कथा केवल व्यक्तिगत पीडा होइन, यो समाजका संवेदनशील पक्षलाई उजागर गर्ने कथा हो। घर, परिवार र सुरक्षा हुँदाहुँदै पनि कहिलेकाहीँ जीवनले अनपेक्षित चुनौतीहरू ल्याउँछ। तर मानवसेवा आश्रमले दिएको आश्रयले उनलाई नयाँ जीवनको सम्भावना देखाएकाे छ ।