काठमाडौँ। ५९ वर्षका प्रेम किशोर राई जीवनका यस्ताे मोडमा आइपुगेका छन्, जहाँ विगतका सम्झनाले मन पोल्छ र वर्तमानले बाँच्न सिकाइरहेको छ। दार्जिलिङ स्थायी घर भएका राईले आफ्नो जीवनका अधिकांश वर्ष नेपालमै बिताए। काठमाडौँ उपत्यकाका विभिन्न बोर्डिङ स्कूलहरूमाबालबालिकालाई अंग्रेजी विषय पढाउँदै उनले शिक्षण पेशालाई बनाए।
नेपालमै विवाह गरेर गृहस्थ जीवन सुरु गरेका राईले बुढेसकालसम्म साथ रहने सपना बुनेका थिए। तर जीवनले सोचेअनुसार मोड लिन सकेन। वैवाहिक सम्बन्ध दुई वर्षमै टुट्यो। यस वैवाहिक जीवनबाट जन्मेका एक छोरा आमासँगै नयाँ जीवन सुरु गर्दै विदेश पुगे। अहिले उनका छोरा फ्रान्समा बसोबास गरिरहेको जानकारी राईले पाएका छन्। श्रीमती र सन्तानसँगको विछोडले उनको मनमा गहिरो चोट पुर्यायो।
१२ कक्षासम्म अध्ययन गरेका राई बिए प्रथम वर्षमा अध्ययनरत रहँदा जीवनले उनलाई गम्भीर पीडाको सामना गरायो। पारिवारिक विछोडको पीडा भुलाउन उनी क्रमशः मद्यपानतर्फ आकर्षित भए। यही लतले उनको जीवनको दिशानै बदलिदियो। शिक्षण पेशाबाट सम्मानित जीवन बिताइरहेका राई केही समयमै सडकको कठोर यथार्थमा धकेलिन पुगे। न उनी दार्जिलिङ फर्किन सके, न त नेपालमै आफ्नो पहिचान जोगाउन सके। मागेर खाने, सडकपेटीमा रात बिताउने उनको दैनिकी बन्यो।
करिब सात महिना अघि मानवसेवा आश्रमको उद्धार टोलीले सडकपेटीबाट उद्धार गरी उनलाई संरक्षणमा राख्याे। आश्रमको सहाराले उनको जीवन फेरि अनुशासित बन्दै गए पनि स्वास्थ्य समस्याले भने उनलाई निरन्तर दुःख दिइरहेको छ। उनी नसा च्यापिने रोगबाट पीडित छन्, जसका कारण टाउको दुख्ने, रिगटा लाग्ने र शरीर कमजोर हुने समस्या देखिन्छ। विशेषगरी जाडो मौसममा यी समस्याले उनलाई झनै बेचैन बनाउँछ।
घरमा फर्किने विषयमा उनी अहिले कुनै ठाेस निर्णयमा पुगिसकेका छैनन्। घरमा न बुबाआमा छन्, न दिदीबहिनी। रोगी शरीर र एक्लोपनका कारण उनी तत्काल घर फर्किन चाहँदैनन्। “पहिला रोग निको होस्, त्यसपछि मात्र जीवनका बारेमा सोच्नेछु,” उनी भन्छन्। जीवनका अनुभवले उनलाई गहिरो सोचमा पुर्याएको छ। उनका शब्दमा, “मान्छे जन्मेर सुख पाउने जात होइन रहेछ। विवाह गरेपछि बुढेसकालमा साहरा पाइन्छ भन्ने सोचेको थिएँ, तर आज एक्लै छु।”
प्रेम किशोर राईको जीवनकथा व्यक्तिको पीडा मात्र होइन, समाजमा पारिवारिक विछोड, लत र असहायताले कसरी मान्छेलाई सडकसम्म पुर्याउँछ भन्ने यथार्थको प्रतिविम्ब हो। सडकदेखि आश्रमसम्मको उनको यात्रा मानवीय सेवाको आवश्यकता र मानवसेवा आश्रमजस्ता संस्थाको महत्त्वलाई प्रष्ट रूपमा उजागर गर्छ।