
सप्तरी । पूर्व–पश्चिम राजमार्गमा बिहानदेखि रातिसम्म गाडीहरू गुडिरहन्छन्। यात्रुहरू आउँछन्, केहीबेर बस्छन् र आआफ्नो गन्तव्यतर्फ लाग्छन्। कसैलाई घर पुग्ने हतार हुन्छ, कसैलाई कामको चिन्ता। तर यही भीडभाडको बीचमा एउटा यस्तो दृश्य थियो, जसले हाम्रो समाजको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाउँछ।
सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियास्थित एउटा सार्वजनिक प्रतीक्षालयमा एक वृद्ध बुवा करिब १० दिनदेखि बेहोस अवस्थामा पल्टिरहेका थिए। उनी न उठ्न सक्थे, न बोल्न सक्थे, न आफ्नो पीडा कसैलाई सुनाउन सक्थे। तर उनी एक्ला थिएनन्। दिनभर सयौँ मानिस त्यहाँबाट हिँड्थे, सवारीसाधन रोकिन्थे, यात्रुहरू उनीमाथि नजर लगाउँथे। फरक यति मात्र थियो । उनीलाई हेर्ने आँखाहरू धेरै थिए, तर उनको हात समात्ने एउटा हात पनि थिएन।
स्थानीयकाअनुसार ती वृद्ध केही समयदेखि त्यही क्षेत्रमा मागेर आफ्नो जीवन धान्दै आएका थिए। कसैले दिएको एक गाँस खाना, कसैले दिएको केही रुपैयाँ र सडक किनारकै बास यही नै उनको संसार थियो। उमेरले शरीर कमजोर भइसकेको थियो। त्यसैमाथि चर्को गर्मी, भोक र रोगले उनलाई थला पार्यो।
एक दिन उनी प्रतीक्षालयमै ढले।
सुरुका दिनमा सायद धेरैले सोचे होलान् अहिले उठिहाल्छन्। तर दिनहरू बित्दै गए। एउटा दिन दुई दिनमा बद्लियो, दुई दिन पाँच दिनमा, पाँच दिन १० दिनमा। उनी त्यहीँ थिए। उही अवस्थामा। घाम लाग्दा घाम, गर्मी बढ्दा गर्मी, रात पर्दा चिसो हावा सबै सहेरै बसे ।
उनी जीवित थिए कि थिएनन् भन्ने जिज्ञासा त धेरैलाई भयो होला। तर अस्पताल पुर्याउने जिम्मेवारी कसैले लिएन।
मानिसहरू आउँथे। हेर्थे। केही क्षण कुरा गर्थे। अनि आफ्नो बाटो लाग्थे।
त्यो प्रतीक्षालयले ती १० दिनमा एउटा वृद्धको असहायपन मात्र देखेन, हाम्रो समाजको मौनता पनि देख्यो।
स्थानीय वडाध्यक्ष मेहदी हुसैनमार्फत मानवसेवा आश्रममा खबर पुगेपछि मेचीमहाकाली उद्धार टोली घटनास्थलमा पुग्यो। उद्धार यात्रामा सहभागीहरूले देखेको दृश्य उनीहरूको मनमा अझै ताजै छ।
ती वृद्धको शरीरभरि दिसा–पिसाब लागेको थियो। लामो समय एउटै ठाउँमा पल्टिरहँदा शरीर गल्न थालेको थियो। भोक, रोग र अत्यधिक गर्मीले उनको शरीर लगभग शक्तिहीन बनाइसकेको थियो। उनी बोल्न सक्ने अवस्थामा पनि थिएनन्। केवल आँखा खोल्ने प्रयास गर्थे, तर शब्द बाहिर आउँदैन थियाे ।
त्यो दृश्य देख्दा उद्धारकर्मीहरूको मन भारी भयो। उनीहरूलाई ती वृद्ध अपरिचित थिए। न नाम थाहा थियो, न घर, न परिवार। तर त्यो क्षण उनीहरूका लागि ती कुनै अपरिचित थिएनन् । उनी आफ्नै बुबाजस्तै लागिरहेका थिए।
उनीहरू पछि हटेनन्।
दुर्गन्धको पर्वाह नगरी आफ्नै हातले उनलाई उठाए। नुहाइदिए। शरीर सफा गरिदिए। नयाँ लुगा लगाइदिए। पानी खुवाए। अनि तत्काल उपचारका लागि अस्पताल पुर्याए।
धेरै दिनपछि सायद कसैले पहिलो पटक उनलाई मानिसजस्तो व्यवहार गरिरहेको थियो।
उपचार सुरु भयो। चिकित्सकहरूले सक्दो प्रयास गरे। केही समयपछि उनको स्वास्थ्यमा सामान्य सुधार पनि देखियो। उद्धारकर्मीहरूमा आशा पलायो। उनीहरूले मनमनै प्रार्थना गर्थे भगवान्, यी बुवालाई बचाइदिनुहोस्। एकपटक बोल्न सक्ने बनाइदिनुहोस्। कम्तीमा आफ्नो नाम त भन्न सकून्। घरको ठेगाना त सम्झन सकून्। उनीबारे उनकाे परिवारलाई त खबर गर्न पाइयोस्।
तर जीवनमा सबै इच्छा पूरा हुँदैनन्।
उपचारपछि आश्रम ल्याइएको भोलिपल्ट नै ती वृद्ध बुवाले अन्तिम सास फेरे।
त्यसपछि सुरु भयो अर्को खोज।
उनी को थिए ?
कहाँका थिए ?
उनको घर कहाँ थियो ?
उनका छोरा–छोरी थिए कि थिएनन् ?
जीवनभर कसका लागि संघर्ष गरे ?
यी कुनै प्रश्नको उत्तर भेटिएन।
बोल्न नसक्ने अवस्थामा हुँदा उनीले आफ्नो परिचय आफैँ दिन सकेनन्। न आफन्त नै भेटिए। अन्ततः एउटा मानिस आफ्नो सम्पूर्ण परिचय आफूसँगै लिएर याे संसारबाट बिदा भयो।
जीवनको अन्तिम घडीमा उनका आफ्ना कोही थिएनन्।
तर मृत्युमा पनि उनी एक्ला भएनन्।
मानवसेवा आश्रमका अभियन्ताले जनकपुरधामको स्वर्गद्वारमा आफ्नै परिवारका सदस्यलाई झैँ सम्मानका साथ उनको अन्त्येष्टि गरे। काजकिरिया गर्ने छोरा थिएनन्, काँध दिने आफन्त थिएनन्, अन्तिम बिदाइमा आँसु बगाउने परिवार थिएन। तर मानवताको नाताले अपरिचित मानिसहरू नै उनको परिवार बने।
यो कथा एउटा वृद्धको मृत्युको कथा मात्र होइन।
यो हाम्रो समाजलाई ऐना चित्रण गर्ने कथा हो।
एउटा मानिस सार्वजनिक स्थानमा १० दिनसम्म बेहोस अवस्थामा पल्टिरहँदा हामी किन मौन बस्यौँ ? किन कसैले समयमै अस्पताल पुर्याउने साहस गरेन? किन हामीलाई आफ्नो काम महत्त्वपूर्ण लाग्यो, तर एउटा जीवन महत्त्वपूर्ण लागेन ?
सायद हामी सबैले सोच्यौँ, कसैले गरिहाल्छ नि।
तर जब सबैले त्यसै सोच्छन्, अन्ततः कसैले पनि केही गर्दैन।
ती वृद्ध बुवाले आफ्नो अन्तिम समय परिवारको काखमा बिताउन पाएनन्। आफ्नो नाम उच्चारण समेत गर्न पाएनन्। आफ्ना सन्तानको अनुहार हेर्न पाएनन्। तर उनले एउटा सन्देश छोडेर गए । मानिसलाई सबैभन्दा धेरै अभाव खाना, पैसा वा कपडाको मात्र हुँदैन सबैभन्दा ठूलो अभाव समयमै कसैले म छु नि है भनेर हात समाइदिनेकाे हुन्छ ।
सप्तरीको त्यो प्रतीक्षालय आज पनि त्यहीँ छ। सवारीहरू अझै रोकिन्छन्। यात्रुहरू अझै आउँछन् र जान्छन्। तर त्यहाँ १० दिनसम्म मृत्यु कुरिरहेका ती वृद्ध बुवाको कथा भने एउटा प्रश्न बनेर अझै समाजसँग उत्तर मागिरहेको छ
हामी साँच्चै संवेदनशील समाज बनाइरहेका छौँ, कि केवल तमासा हेरेर अघि बढ्ने मानिसहरूको भीड मात्रै ?