पर्थ, अष्ट्रेलिया । मानवसेवा आश्रम अस्ट्रेलिया च्याप्टरको निमन्त्रणा तथा आयोजनामा सञ्चालन भइरहेको ‘Connect Australia Through Humanity’ अभियानअन्तर्गत पर्थमा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता देखिएको छ। कार्यक्रममा सहभागी विभिन्न मानवताप्रेमी व्यक्तिहरूले आश्रमको सेवा, संरक्षण तथा भवन निर्माणमा सहयोग गर्दै मानवसेवाप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
सेप्टेम्बर १७ देखि अक्टोबर ७ सम्म अष्ट्रेलियाका सात राज्यमा सञ्चालन हुने अभियानको उद्देश्य मानवीय सेवा अभियानमा सहकार्य तथा सहयोग जुटाउनुका साथै मानवतासँग जोडिएका व्यक्तिहरूलाई सेवामा सहभागी गराउनु रहेको छ।

कार्यक्रमका क्रममा चितवन घर भई हाल पर्थ रहनुभएका नविन भण्डारी, विद्या/एरि र ईशा भण्डारी एवं परिवारले आश्रममा आजीवन वार्षिक खाजासेवाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ।
भक्तपुर घर भई पर्थमा बस्नुहुने भुवन खड्काले मानवसेवा आश्रमका दुई बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुका साथै आश्रमको संरक्षणमा रहेका दुई आमाबुबाका छोराको भूमिका निर्वाह गर्नुभएको छ।

गोरखा स्थायी घर भई पर्थमा रहनुभएका रुष्तम मास्केले एक बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुभएको छ। त्यस्तै भक्तपुर घर भई पर्थमा रहनुभएका समुन्द्र पुरी र धनगढी घर भई पर्थलाई कर्मभूमि बनाउनुभएकी आस्था बमले पनि एक–एक बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुभएको छ।

विराटनगर घर भई पर्थलाई कर्मभूमि बनाउनुभएका सलोनी पोखरेल र सुशान्त सुबेदीले आश्रमको संरक्षणमा रहेका एक आमाबुबाका छोराको भूमिका निर्वाह गर्नुभएको छ।
कुष्मा, पर्वत घर भई पर्थमा रहनुहुने कमल तिमल्सिना एवं परिवारले आश्रमका दुई बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुभएको छ। विराटनगर, मोरङ घर भई पर्थमा रहनुभएका सुरेश खनाल र सञ्जु दहालले पनि दुई बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुभएको छ।
यसैगरी, अष्ट्रेलियाको एडिलेडमा मानवसेवा आश्रमको भवन निर्माणका लागि Expert Education Adelaide का प्रमुख रुपक वर्तौला एवं परिवारले एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १११ सहयोग गर्नुभएको छ।
-1789970496.jpg)
अष्ट्रेलियाका विभिन्न राज्यमा सञ्चालन भइरहेको ‘Connect Australia Through Humanity’ अभियानले नेपालमा मानवसेवा आश्रमले गर्दै आएको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनको सेवासँग अष्ट्रेलियामा रहेका नेपालीलाई जोड्ने प्रयास गरिरहेको छ। अभियानमार्फत प्राप्त सहयोग र अभिभावकत्वले आश्रमको सेवामा रहेका बाबुनानी तथा आमाबुबाको संरक्षणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।