काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ स्थित कालोपुलमुनि प्रहरीको नजरमा परिन् ५५ वर्षीया शान्तिदेवी कुँवर। सडकमा अलपत्र अवस्थामा भेटिएकी शान्तिदेवीको जीवनकथा सुन्दा मन भारी हुन्छ। सानै उमेरमा बुवाआमा गुमाएकी उनले जीवनका अनेक उतारचढाव पार गर्दै अन्ततः सडकलाई आफ्नो सहारा बनाउन बाध्य भइन्।
शान्तिदेवीका श्रीमानकाे पुर्ख्यौली घर नुवाकोट हो। बाल्यकालमै बुवाआमा गुमाएकी उनी अभिभावकको माया र संरक्षणबाट वञ्चित हुँदै हुर्किइन्। सानै उमेरमा काठमाडौँमा बस्दै आएका रामप्रसाद अधिकारी शर्मासँग भागी विवाह गरेपछि उनको जीवनमा नयाँ आशा पलायो। विवाह भएको करिब पाँच वर्षपछि छोरा सुनिल अधिकारी जन्मिए। छोराको आगमनसँगै परिवारसँगै सुखी जीवन बिताउने उनको सपना थियो।
तर समयले उनको सपना पूरा हुन दिएन। अन्तरजातीय विवाह गरेकै कारण उनले परिवारभित्रै हेला, अपमान, दुर्व्यवहार र घरेलु हिंसा सहनुपर्यो। घरभित्रको निरन्तर पीडा र अपमानले उनलाई घरबाट बाहिरिन बाध्य बनायो। श्रीमानले अर्को विवाह गरेपछि उनी झन् एक्लिइन्। छोरा पनि श्रीमानसँगै रहे। आफ्नै परिवार हुँदाहुँदै पनि शान्तिदेवी सहारा खोज्दै सडकमा पुगिन्।
घर छोडेपछि उनको जीवनले अर्कै बाटो समात्यो। वर्षौँसम्म कहाँ–कहाँ पुगिन्, कस्ता पीडा भोगिन् भन्ने पूरा विवरण सायद उनीसँग पनि छैन। अन्ततः काठमाडौँको कालोपुलमुनि बेवारिसे अवस्थामा जीवन बिताइरहेकी उनलाई प्रहरीले उद्धार गरी मानवसेवा आश्रमसम्म पुर्यायो। करिब तीन महिनाअघि आश्रमको संरक्षणमा आएकी शान्तिदेवीले अहिले सुरक्षित छानो, नियमित भोजन, हेरचाह र सबैभन्दा ठूलो कुरा आफ्नोपन पाएकी छन्।

शान्तिदेवीको कथा एउटा महिलाको मात्र कथा होइन, परिवारभित्रको हिंसा, अपमान र असहयोगले मानिसलाई कुन अवस्थासम्म पुर्याउन सक्छ भन्ने गम्भीर उदाहरण हो। बाल्यकालमै अभिभावक गुमाएकी शान्तिदेवीले विवाहपछि परिवार पाउने सपना देखिन्, तर अन्ततः त्यही परिवारबाट टाढिएर सडकमा पुगिन्।
बितेका वर्ष र भोगेका पीडा फर्काउन नसकिएला। तर बाँकी जीवनलाई माया, सम्मान र सुरक्षासहित बिताउन सकिन्छ। आज शान्तिदेवी मानवसेवा आश्रमको संरक्षणमा छिन्। मनको कुनै कुनामा भने अझै एउटा आशा जीवित छ—कुनै दिन आफ्नो छोरा र परिवारसँग फेरि भेट हुने र पुनः परिवारमा रमाउने ।
किनकि जिन्दगीमा जति एक्लै हिँड्न गाह्रो हुन्छ, त्यति कहिलेकाहीँ एउटा सहारा र आत्मीय हातकाे न्यानाे स्पर्श पाए जीवन सहज बन्दै जान्छ ।