झापा । मानवसेवा आश्रमले झापामा पहिलो पटक ‘आमा सेमिनार’ आयोजना गर्दै आमाको महत्त्व र महिमा बोध गराउने तथा राष्ट्र, राष्ट्रियता र मातृभूमिप्रतिको सम्मान बढाउने उद्देश्यसहित दुई दिने कार्यक्रम सञ्चालन गरेको छ ।
आश्रमद्वारा आयोजित उक्त कार्यक्रमको सहजीकरण प्रेरक व्यक्तित्व तथा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले गर्नुभएको हो । आश्रमले मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म कन्काई उद्योग वाणिज्य संघ को सभाहल, कन्काई नगरपालिका–३ सुरुङ्गामा सेमिनार सञ्चालन गरिएकाे थियो ।
त्यसैगरी, बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा विद्यार्थी लक्षित कार्यक्रम आयोजना गरिएको थियो भने सोही दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सोही स्थानमा अन्य समुदाय लक्षित सेमिनार सम्पन्न भएको छ ।
यसैगरी, बुधबार दिउँसो ४ बजेदेखि ५ बजेसम्म मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक हलमा युवा विद्यार्थी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारी, समाज परिवर्तनका लागि जागरुक महिला समूह, आमा समूह, सरोकारवाला संघसंस्थामा कार्यरत जनशक्ति तथा समाजसेवीहरूलाई लक्षित गर्दै सेमिनार आयोजना गरिएको थियो ।
कार्यक्रममा झापावासीको उत्साहजनक सहभागिता रहेको थियो । सेमिनारमा आमासम्बन्धी रोचक प्रसंग प्रस्तुतिले धेरै सहभागी भावुक समेत बनेका थिए । सहभागीहरूले आमाको वात्सल्य प्रेमको संसारका कुनै पनि वस्तुसँग तुलना हुन नसक्ने उल्लेख गर्दै कार्यक्रमबारे मिश्रित प्रतिक्रिया दिएका छन्।