काठमाडौँ । आज कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन। घरघरमा बुवाको मुख हेर्ने, मिठोमसिनो खुवाउने, नयाँ कपडा तथा उपहार दिने र आशीर्वाद लिने क्रम चलिरहेको छ। कतै छोराछोरी बुवाको हात समाउँदैछन्, कतै टाढा रहेका सन्तान फोनमार्फत बुवासँग माया साटिरहेका छन्। तर यही दिन मानवसेवा आश्रममा रहेका कतिपय बुवाहरू भने आफ्ना सन्तानको सम्झनामा छन्। कसैको मनमा सन्तानले एकपटक भेट्न आइदिए हुन्थ्यो भन्ने चाहना अझै जीवित छ, कसैको मनमा घर फर्किन पाए हुन्थ्यो भन्ने आशा बाँकी नै छ। अनि कसैको मनमा भने सन्तान भएर पनि किन आफ्नो बुढेसकाल आश्रममा बिताउनुपर्यो भन्ने प्रश्न छ।
भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसीमा घरघरमा पवित्र कुश भित्र्याएर पूजा गर्ने धार्मिक परम्परा छ। सनातन वैदिक हिन्दू धर्मावलम्बीले वर्षभरि गरिने देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने कुश आज घरमा राख्ने गर्छन्। कुशलाई भगवान् विष्णुको स्वरूप मानी पूजा गर्ने धार्मिक विश्वास छ। यही दिन छोराछोरीले आफ्ना बुवालाई मिठोमसिनो खुवाएर आदर र सम्मान प्रकट गर्ने भएकाले यस दिनलाई ‘बाबुको मुख हेर्ने दिन’ तथा पितृ दिवससमेत भनिन्छ।
तर, बुवाको मुख हेर्ने यही दिन केही बुवाका लागि भने खुसीभन्दा बढी पीडा बोकेर आएको छ।
पर्वतका ५४ वर्षीय एक बुवाका दुई छोरा छन्। जीवनभर परिवारका लागि संघर्ष गर्नुभएका उहाँलाई बुढेसकालमा भने आफ्नै सन्तानको साथ मिलेन। कसैले रेखदेख नगरेपछि करिब नौ महिनाअघि उहाँ मानवसेवा आश्रमको संरक्षणमा आउनुभयो। आफ्नै सन्तान भएर पनि आश्रममा बस्नुपरेको गुनासो उहाँको मनमा अझै छ। आज बुवाको मुख हेर्ने दिन आउँदा सायद उहाँका आँखाले पनि आफ्नै छोराहरू खोजिरहेका होलान्।
४६ वर्षीय राजबहादुर न्यौपानेको पीडा पनि उस्तै छ। छोराहरू छन्, तर लिन आउँदैनन्। ‘लिन आउँदा पनि आउँदैनन्’ भन्दै उहाँ चित्त दुखाउनुहुन्छ। बुढेसकालमा सन्तानको हात समातेर घर फर्किने चाहना कसलाई नहोला र रु तर त्यो चाहना पूरा नहुँदा उहाँको मनमा रहेको पीडा शब्दमा भन्दा आँखामा बढी झल्किन्छ ।
हेटौँडा घर बताउने ५८ वर्षीय रामबहादुर सुनारको जीवनमा पनि एकपछि अर्को दुःख आइपर्यो। श्रीमतीले अर्कैसँग विवाह गरेपछि उहाँ एक्लिनुभयो। एक छोरा र तीन छोरीका बुवा उहाँ अहिले मानवसेवा आश्रमकै संरक्षणमा हुनुहुन्छ। सन्तान हुँदाहुँदै पनि बुढेसकालमा एक्लिनुपरेको छ ।
नारायण दाहालले दुईपटक विवाह गर्नुभयो, तर दुवै वैवाहिक सम्बन्ध सफल हुन सकेनन्। अन्ततः उहाँ पनि एक्लो हुनुभयो र अहिले आश्रमको संरक्षणमा हुनुहुन्छ। ८० वर्षीय रामबहादुर विकका तीन छोरा र चार छोरी छन्। ८२ वर्षीय महेन्द्र हमालकी एक छोरी छन्। तर सन्तानको संख्या हुनु र बुढेसकालमा सन्तानको साथ पाउनु एउटै कुरा रहेनछ भन्ने उनीहरूको जीवनले देखाउँछ।
गोरखाका ६९ वर्षीय रामबहादुर मानवसेवा आश्रममा आउनुभएको एक साता मात्रै भएको छ। श्रीमतीको निधनपछि आफू एक्लिएको र संरक्षण गर्ने कोही नभएपछि आश्रममा आएको उहाँ बताउनुहुन्छ। जीवनको लामो यात्रा सँगै हिँडेकी जीवनसाथी गुमाएपछि बुढेसकालको एक्लोपन झनै गहिरिएको छ।
यी त केही प्रतिनिधि पात्र मात्र हुन्। आश्रममा रहेका हरेक बुवाको आफ्नै कथा छ, आफ्नै पीडा छ र आफ्नै सम्झना छ। कसैका छोराछोरी भएर पनि उनीहरू आश्रमसम्म आइपुगेका छन्। कसैका सन्तान नै छैनन्। कसैले विवाह गर्न पाउनुभएन। कसैका परिवार र सन्तान हुँदाहुँदै पनि परिवारको साथबाट टाढा हुनुपरेको छ। विभिन्न कारणले परिवारबाट परित्यक्त भई सडकमा कष्टपूर्ण जीवन बिताउन बाध्य भएका उनीहरूलाई मानवसेवा आश्रमले उद्धार गरी संरक्षण प्रदान गरिरहेको छ।
हाल मानवसेवा आश्रममा करिब १७ सय बुवाहरू संरक्षणमा रहँदै आउनुभएको छ। सन्तानका लागि आफ्नो जवानी खर्चिएका, छोराछोरीको भविष्य बनाउन आफ्नो इच्छा र रहर त्यागेका बुवाहरू आज बुढेसकालमा आश्रमको न्यानो काखमा हुनुहुन्छ।
बुवाको मुख हेर्ने दिन घरघरमा बुवाको हात समातिँदा आश्रमका कतिपय बुवाहरू भने आफ्ना सन्तानको हात सम्झिरहेका छन्। कसैलाई एकपटक फोन आइदिए हुन्थ्यो भन्ने लागिरहेको होला। कसैलाई छोराछोरी भेट्न आइदिए हुन्थ्यो भन्ने लागेको होला। अनि कसैलाई आफ्नै घरको आँगन सम्झेर मन भारी भइरहेको होला।
यही अभावलाई केही हदसम्म भए पनि कम गर्न मानवसेवा आश्रमले हरेक चाडपर्वलाई आश्रममै पारिवारिक वातावरणमा मनाउँदै आएको छ। बुवाआमासँगै बसेर पर्व मनाउने, मिठोमसिनो खुवाउने, माया र आत्मीयता बाँड्ने गरिन्छ । बुवा गुमाएका कतिपय दाताहरू पनि आश्रममा आएर आश्रमका बुवाआमासँगै कुशे औँसी मनाउने गर्छन्। कसैले भोजन सेवा गर्छन्, कसैले खाद्य तथा आवश्यक सामग्री सहयोग गर्छन्।
कुशे औँसी केवल बुवाको मुख हेर्ने पर्व होइन, बुवाआमाप्रतिको हाम्रो जिम्मेवारी सम्झने दिन पनि हो। जन्म दिने, हुर्काउने र जीवनको बाटो देखाउने आमाबुवालाई बुढेसकालमा साथ, सम्मान र संरक्षण दिनु सन्तानको कर्तव्य हो। तर परिवारको साथ गुमाएका जेष्ठ नागरिक तथा सडकआश्रित मानवलाई पनि समाजले आफ्नो मान्न सक्नुपर्छ।
आज आफ्ना बुवाको हात समातेर आशीर्वाद लिइरहँदा एकपटक ती बुवाहरूलाई पनि सम्झौँ, जसका हात समाउने कोही छैन। आफ्ना बुवालाई मिठो खाना खुवाइरहँदा ती बुवाहरूलाई पनि सम्झौँ, जसले सन्तानका लागि जीवनभर दुःख गरे तर बुढेसकालमा आफ्नै सन्तानको साथ पाउन सकेनन्।
आउनुहोस्, यस कुशे औँसीमा हामी सबै मिलेर जेष्ठ नागरिक तथा सडकआश्रित मानवहरूको संरक्षणमा हातेमालो गरौँ। किनकि हरेक बुवा कसैका बुवा हुन्, हरेक आमा कसैकी आमा हुन्। उनीहरूलाई माया, सम्मान र संरक्षण दिनु नै हाम्रो साझा दायित्व हो ।