काठमाडौँ । मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरको आयोजनामा सेप्टेम्बर १७ देखि अक्टोबर ७, २०२६ सम्म अष्ट्रेलियाका विभिन्न १० सहरमा मानवता प्रवर्द्धन अभियान सञ्चालन हुने भएको छ।
नेपालमा सञ्चालित सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माण अभियानलाई अन्तर्राष्ट्रिय नेपाली समुदायसँग जोड्ने उद्देश्यले आयोजना गरिएको अभियानमा मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारी सहभागी हुनुहुनेछ।
अभियानअन्तर्गत अध्यक्ष अधिकारीले अष्ट्रेलियाका विभिन्न सहरमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्दै मानवसेवा आश्रमको अभियान, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुका साथै सेवा, सहयोग, परोपकार र सामाजिक उत्तरदायित्वका विषयम कार्यक्रमकाे सहजीकरण गर्नुहुनेछ।
अभियानका क्रममा पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, लाउन्सेस्टन, सिड्नी, क्यानबेरा, ब्रिस्बेन र डार्विन लगायतका सहरमा विभिन्न कार्यक्रम आयोजना हुनेछन्।
यसैबीच, दक्षिण अष्ट्रेलियास्थित मानवसेवा साउथ अष्ट्रेलिया कमिटी तथा एडिलेडमा रहेका नेपाली समुदाय अध्यक्ष अधिकारीसहितको टोलीको स्वागत तथा कार्यक्रम व्यवस्थापनमा जुटेका छन्। राज्य संयोजक अनुभव अधिकारीको नेतृत्वमा समितिले आवश्यक समन्वयलाई तीव्रता दिएको छ।
अष्ट्रेलियामा सञ्चालन हुने यस अभियानले मानवताको सन्देश विश्वभर फैलाउँदै प्रवासी नेपालीहरूलाई मानवसेवा आश्रमको अभियानसँग जोड्ने तथा सेवा र परोपकारमा सहकार्य विस्तार गर्ने लक्ष्य लिइएकाे छ।