अष्ट्रेलिया । मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरको निमन्त्रण तथा आयोजनामा सञ्चालन भइरहेको ‘Connect Australia Through Humanity’ अभियानअन्तर्गत पर्थ र एडिलेडमा कार्यक्रम सम्पन्न भएका छन्। नेपालमा सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनमा सक्रिय मानवसेवा आश्रमको अभियानमा सहयाेग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
सेप्टेम्बर १७ देखि अक्टोबर ७ सम्म अष्ट्रेलियाका सात राज्यमा सञ्चालन हुने अभियानअन्तर्गत पर्थमा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विभिन्न मानवताप्रेमी व्यक्ति तथा संस्थाले आश्रमको सेवा कार्य तथा भवन निर्माणका लागि सहयोग गरेका छन्।
अभियानमार्फत आश्रमको संरक्षणमा रहेका आमाबुबाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै आश्रमका सबै शाखामा फिजियोथेरापी सेवा विस्तारका लागि आवश्यक सहयोग जुटाउने लक्ष्य राखिएको छ। साथै, मानवता प्रवर्द्धनमार्फत अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई मानवसेवाकाे अभियानसँग जोड्ने रहेकाे छ ।
पर्थमा नेपाल मगर कल्चरल एसोसिएसन डब्लु ए एवं परिवार र NRNA–Western Australia एवं परिवारले आजीवन वार्षिक खाजासेवाका लागि जनही १ लाख ११ हजार १ सय ११ अर्थात् १ हजार १०० अष्ट्रेलियन डलर सहयोग गरेका छन्। त्यस्तै, मानवसेवा आश्रम अष्ट्रेलिया, पर्थका सदस्य राजेश बुधाथोकी एवं परिवारले आजीवन वार्षिक भोजनसेवाका लागि रु. २ लाख ६१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
चितवन घर भई हाल पर्थमा रहनुभएका नविन भण्डारी, विद्या/एरि र ईशा भण्डारी एवं परिवारले पनि आश्रममा आजीवन वार्षिक खाजासेवाका लागि रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ।
यसैगरी, पर्थमा रहेका विभिन्न मानवताप्रेमी व्यक्तिहरूले आश्रममा आश्रित बाबुनानीको अभिभावकत्व ग्रहण गरेका छन्। भक्तपुरका भुवन खड्काले दुई बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुभएको छ भने गोरखाका रुष्तम मास्के, भक्तपुरका समुन्द्र पुरी र धनगढीकी आस्था बमले एक–एक बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुभएको छ।
कुष्मा, पर्वतका कमल तिमल्सिना एवं परिवारले दुई बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुभएको छ भने विराटनगर, मोरङका सुरेश खनाल र सञ्जु दाहालले पनि दुई बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुभएको छ।
भक्तपुर घर भई पर्थमा रहनुभएका भुवन खड्काले दुई बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुका साथै आश्रमको संरक्षणमा रहेका दुई आमाबुबाका छोराको भूमिका निर्वाह गर्नुभएको छ। त्यस्तै, विराटनगरका सलोनी पोखरेल र सुशान्त सुबेदीले पनि आश्रमको संरक्षणमा रहेका एक आमाबुबाका छोराको भूमिका निर्वाह गर्नुभएको छ।
यसैबीच, हेटौंडा घर भई हाल पर्थलाई कर्मभूमि बनाउनुभएकी सपना चौलागाईंले आश्रममा आश्रित एक बाबुनानीको अभिभावकत्व ग्रहण गर्नुभएको छ। पर्थमा रहेका मानवताप्रेमी १२ जना व्यक्ति तथा परिवारले आजीवन सदस्यता ग्रहण गर्दै जनही ५४ हजार ५ सय २२ रुपैयाँ अर्थात् ५०० अष्ट्रेलियन डलर सहयोग गरेका छन्।
अष्ट्रेलियाको एडिलेडमा भने मानवसेवा आश्रमको भवन निर्माणका लागि Expert Education Adelaide का प्रमुख रुपक वर्तौला एवं परिवारले एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ।
‘Connect Australia Through Humanity’ अभियानले मानवताको भावना र सेवाको उद्देश्यलाई केन्द्रमा राख्दै अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई नेपालमा भइरहेको मानवसेवा अभियानसँग जोड्ने प्रयास गरिरहेको छ। अभियानमार्फत जुट्ने सहयोगबाट आश्रमका विभिन्न शाखामा फिजियोथेरापी सेवा विस्तार, भवन निर्माण तथा सहयोगापेक्षी मानवको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनको व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।