काठमाडौँ । जीवनको उत्तरार्धमा धेरैजसो मानिस परिवारको साथ र सहाराको अपेक्षा गर्छन्। तर रुपन्देहीका ७९ वर्षीय विपुलकुमार मातेका लागि नियतिले फरक कथा लेख्यो। श्रीमती र एक्लो छोरालाई गुमाएपछि उनी अन्ततः सहाराको खोजीमा आफैँ मानवसेवा आश्रम पुग्न बाध्य भए।
जेठ २१ गते उनी एउटा पत्रिकामा प्रकाशित समाचारको अंश बोकेर पशुपति क्षेत्र विकास कोष पुगेका थिए। काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमको सहकार्यमा सडकआश्रित व्यक्तिहरूलाई आश्रममा संरक्षण प्रदान गरिने विषयमा प्रकाशित समाचारले उनलाई आशाको किरण देखाएको थियो। कोषबाट आश्रमबारे थप जानकारी पाएपछि उनी मानवसेवा आश्रमको शरणमा आइपुगे।

पछिल्लो एक महिनादेखि टोखामा एक चिनेजानेको परिवारको घरमा बस्दै आएका विपुलकुमारलाई खानबस्नको तत्काल समस्या थिएन। तर स्थायी रूपमा कहाँ जाने, जीवनको बाँकी समय कसरी बिताउने भन्ने चिन्ताले उनलाई सताइरहेको थियो।
उनका घुँडाका हड्डी खिइएका छन्। विगत १४ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन्। १४ वर्षअघि प्यारालाइसिस भएपछि श्रीमतीको उपचारका लागि उनले आफ्नो जग्गासमेत बेचे। दुई वर्षसम्म उपचार गर्दा पनि श्रीमतीलाई बचाउन सकेनन्। उपचारमा सम्पत्ति सकियो, श्रीमती पनि गुमाए।
त्यसपछि बाँकी रहेको सम्पत्ति उनले छोराको नाममा गरिदिए। तर सात वर्षअघि एक्लो छोराको पनि हृदयघातका कारण मृत्यु भयो। बुहारी अहिले दुई नातिसहित माइतीघरमा बस्दै आएकी छन् भने छोरी आफ्नो परिवार र गृहस्थीमा व्यस्त छिन्।
“परिवार ठूलो छ, त्यहाँ गएर बोझ बन्न मनले मानेन,” विपुलकुमार भन्छन्, “त्यसैले जीवनको अन्तिम सहारा खोज्दै काठमाडौँ आएको हुँ।”
१८ र २१ वर्षका नातिहरू आफ्नै भविष्य निर्माणमा अघि बढिरहेका बेला विपुलकुमारले भने आफ्नो बाँकी जीवन आश्रममै बिताउने निर्णय गरेका छन्।
“अब मेरो कोही छैन। यही आश्रमलाई आफ्नो घर सम्झेर बाँकी जीवन रमाएर बिताउँछु,” उनले भावुक हुँदै सुनाए।
धेरै पीडा, विछोड र संघर्षका बीच जीवन बिताएका विपुलकुमारका लागि मानवसेवा आश्रम अब केवल आश्रयस्थल मात्र होइन, जीवनको उत्तरार्धको नयाँ घर बनेको छ।