रौतहट । कहिलेकाहीँ एउटा फलामे साङ्लोले शरीर मात्र होइन, सपना, स्वतन्त्रता र भविष्यलाई पनि बाँधिदिन्छ। रौतहटको कटहरिया नगरपालिका–५, बलरामपुर टोलका २१ वर्षीय मोहम्मद दाउद इब्राहिमको जीवन पनि यस्तै एउटा पीडादायी कथामा कैद भएको थियो।
मानसिक स्वास्थ्य समस्याले ग्रस्त मोहम्मदलाई परिवारले सम्हाल्न सकेन। उनी आफैँलाई वा अरूलाई कुनै क्षति नपुर्याऊन् भन्ने चिन्ताले परिवारले अन्ततः उनलाई घरमै फलामे साङ्लोले बाँध्ने कठोर निर्णय गर्यो। त्यो निर्णय कसैको रहर थिएन, परिस्थितिको विवशता थियो। तर त्यसपछि मोहम्मदका दिनहरू एउटै ठाउँमा बित्न थाले। बिहानदेखि बेलुकासम्म उही आँगन, उही साङ्लो र उही मौनता। दुई वर्षसम्म उनको संसार चार भित्ताभित्र र फलामे घेराभित्र सीमित रह्यो।
तर समय सधैँ एउटै रहँदैन।
एक दिन उनी साङ्लोसहित घरबाट निस्किए। भौतारिँदै रौतहटको गुजरा नगरपालिका–२ क्षेत्रमा पुगेका उनलाई नेपाल प्रहरीले फेला पार्यो। उनी बोल्न सक्ने अवस्थामा पनि थिएनन्। आफ्नो नाम, घर वा परिवारबारे केही भन्न सक्दैनथे। त्यसपछि संरक्षणका लागि उनलाई मानवसेवा आश्रम रौतहट शाखामा राखियाे ।
आश्रमका लागि उनी केवल एक सडकमा भेटिएका व्यक्ति थिएनन्, आफ्ना आफन्तको प्रतीक्षामा कतै हराइरहेको एउटा जीवन थिए। त्यसैले उनको परिचय पत्ता लगाउने प्रयास सुरु भयो। खोजी जारी रह्यो। अन्ततः त्यो प्रयास सफल भयो। परिवार आश्रमकाे सम्पर्कमा आयो।
वर्षौँदेखि पीडाले थिचिएको एउटा परिवार र दुई वर्षसम्म साङ्लोमा बाँधिएको एउटा युवक फेरि आमनेसामने भए। आश्रमले आवश्यक कानुनी र कागजी प्रक्रिया पूरा गरेर मोहम्मदलाई परिवारको जिम्मा लगायाे। पुनर्मिलनका क्रममा परिवारले अब उनको उपचार, नियमित हेरचाह र सम्मानपूर्वक जीवनयापनका लागि आवश्यक साथ दिने प्रतिबद्धता समेत जनायो।
मोहम्मदको कथा केवल एउटा व्यक्तिको कथा होइन। यो मानसिक स्वास्थ्य समस्यालाई अझै पनि बुझ्न नसकेको हाम्रो समाजको यथार्थ पनि हो। कहिलेकाहीँ परिवारहरू बाध्यताले कठोर निर्णय गर्न पुग्छन्, किनकि उनीहरूसँग उपचार, परामर्श वा आवश्यक सहयोगको पहुँच हुँदैन।
आज मोहम्मद फलामे साङ्लोबाट मुक्त भएका छन्। तर उनीजस्ता धेरै मानिस अझै पनि अदृश्य साङ्लोमा बाँधिएर बाँचिरहेका छन्। उनीहरूलाई दया होइन, उपचार चाहिन्छ; बहिष्कार होइन, स्वीकार चाहिन्छ; बन्धन होइन, माया, साथ र सम्मानित संरक्षण चाहिन्छ।
मोहम्मदको जीवनले फेरि एउटा नयाँ अध्याय सुरु गरेको छ। आशा गरौँ, अब उनका दिनहरू साङ्लोको आवाजले होइन, परिवारको माया, उपचार, भरोसा र सम्मानपूर्ण जीवनको उज्यालोले भरिनेछन्।