काठमाडौँ । मानवसेवा आश्रमले शनिबार देशका विभिन्न स्थानबाट पाँच जना सडकआश्रित मानवको उद्धार गरी संरक्षण प्रदान गरेको छ। उद्धार गरिएकामध्ये चार जना पुरुष र एक जना महिला रहेका छन्।
आश्रमको सेवा सहजीकरण तथा व्यवस्थापनका लागि मनकारी दाताहरूबाट शनिबार १८ लाख ७४ हजार ३ सय ३५ रुपैयाँ सहयोग प्राप्त भएको छ। त्यस्तै, आश्रमको सेवा सञ्चालनतर्फ १ लाख ६६ हजार ६ सय ३८ रुपैयाँ बराबरको खर्च भएको आश्रमले जनाएको छ।
त्यसैगरी, आश्रमका विभिन्न शाखाको संरक्षणमा रहनुभएका आश्रितहरूका लागि शनिबार ५२ वटा भोजन तथा १५ वटा खाजा सेवा सञ्चालन गरिएको थियो।
शनिबार एकै दिन ५ सय ५० जनाले आश्रमका विभिन्न शाखाको अवलोकन भ्रमण गरेका हुन्। अवलोकनका क्रममा दाताहरूले आश्रमलाई १ लाख ४० हजार ४ सय ९० रुपैयाँ बराबरको खाद्य सामग्री समेत सहयोग गरेका छन्।
मानवसेवा आश्रम सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन बालबालिका, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन सेवामा समर्पित एक गैरनाफामुलक संस्था हाे । आश्रमले वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेकाे हो ।