काठमाडौँ । उमेरले ७४ वसन्त पार गरिसकेको छ। आँखाले अब संसार सामर्थ्य राख्दैनन् , न कानहरुले आवाज प्रष्ट ठम्याउँन सक्छन्। तर मनभित्र भने जीवनका असंख्य सम्झनाहरू अझै जीवितै छन्। ती सम्झनाहरू कहिले पीडामा डुबाउँछन्, कहिले मुस्कानमा देखिन्छन्। यिनै सम्झनाहरू बोकेर आज उनी मानवसेवा आश्रम रानीवनको आँगनमा शान्त मुद्रामा बसिरहेकी छन्, उनी हुन् सुनिता थापा क्षेत्री।
सुनिता आमाको जीवन कथा बाल्यकालदेखि नै दुःखले भरिएको थियो। उनी तीन महिनाकी हुँदा आमाको मृत्यु भयो। आमाको अनुहार कस्तो थियो भन्ने सम्झना समेत उनलाई छैन, तर आमाको माया नपाएको खालीपन भने जीवनभर महसुस गरिरहिन्। त्यसपछि उनको पालनपोषण बुवाले गर्नुभयो। उनको बुवा सिंहदरबारमा काम गरेर जीविकोपार्जन गर्नुहुन्थ्यो। बुवाले दुःख गरेर हुर्काउनुभएको कुरा सम्झँदा उनी अझै भावुक बनिन्।
उमेर बढ्दै जाँदा उनले पनि जीवनसँग जुध्न सिकिनन्। घरको आर्थिक अवस्था बलियो थिएन। त्यसैले उनी सानैदेखि काम गर्न थालेकी थिइन्। “त्यसै बसेर के गर्नु,” भन्ने सोचेर उनले नाङ्लोमा सामान बेचेर हिँड्न सुरु गरिन्। सडक, गल्ली र बजार उनका जीवनका साथी बने। घाम, पानी, भोक र थकानसँगै उनले जीवन चलाइन्।
यही सङ्घर्षकाबीच फलफूल साइकलमा बेच्ने एक भारतीय युवकसँग उनको चिनजान भयो। दिनहुँ भेट, सामान्य कुराकानी, त्यसपछि चिनजान विस्तारै नजिकिँदै गयो। अन्ततः उनीहरूले भागी विवाह गर्ने निर्णय गरे। त्यो निर्णय उनको जीवनको सबैभन्दा ठूलो घातक साबित भयो ।
विवाहपछि दुवैले मिलेर सानो व्यापार सुरु गरे। केही समय सातदोबाटो क्षेत्रमा व्यापार गरे भने पछि झण्डै ३३ वर्ष ललितपुरको ठैबमा निरन्तर व्यापार चलाए। बिहानदेखि बेलुका सम्म व्यापार, कमाइ, घर खर्च जीवन सङ्घर्षकमा बित्दै गयो। तर उनीहरू सँगै थिए, त्यसैले जीवन सहज लाग्थ्यो।
तर उनीहरूको जीवनमा एउटा ठूलो अभाव थियो त्यो हो सन्तान। वर्षौंसम्म सन्तानका लागि उपचार गराए, अस्पताल धाए, मन्दिर पुगे, भाकल गरे, तर उनीहरू सन्तानविहीन नै बने। समाजका कुरा, परिवारको दबाब र सन्तान नभएको पीडाले उनीहरूको सम्बन्ध बिस्तारै कमजोर हुँदै गयो।
“मान्छेले सन्तान नभएपछि धेरै कुरा सुन्नुपर्छ,” उनी भन्छिन्, “त्यो पीडा शब्दमा भन्न सकिँदैन।”
समयसँगै सम्बन्धमा दूरी बढ्दै गयो र अन्ततः उनीहरूको सम्बन्ध टुट्यो। सुखदुःख सँगै बिताउने वाचा गरेको मान्छेले साथ छाडेपछि सुनिता झन् एक्ली बनिन्। उनले सम्बन्ध विच्छेद गरिन् र फेरि व्यापारमै फर्किइन्। जीवनसँग फेरि एकपटक एक्लै लड्ने निर्णय गरिन्।
तर उमेर बढ्दै जाँदा शरीरले साथ छाड्न थाल्यो। हातखुट्टा कमजोर भए, आँखाको दृष्टि धमिलिँदै गयो, कानले सुन्न छोड्यो। काम गर्न सक्ने अवस्था रहेन। आम्दानी बन्द भयो। साथमा कोही थिएन। अन्ततः बाँच्नका लागि उनले सडकमा माग्न सुरु गरिन्।
एक समय व्यापार गरेर जीवन चलाएकी महिला अन्ततः सडकपेटीमा मागेर बाँच्न बाध्य भइन्। भोक, रोग, अपमान र एक्लोपनको पीडाबीच उनले सडकपेटीमै जीवन बिताइन्।
सडकमा मागेर बसेको करिब एक वर्षअघि उनलाई प्रहरीले अलपत्र अवस्थामा फेला पारेपछि मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा राख्यो।
आज उनी आश्रममा सुरक्षित छिन्। खान, बस्न र उपचारको व्यवस्था छ। आँखाले संसार देख्न नसके पनि अनुहारमा मुस्कान छ। शरीर कमजोर भए पनि बोलीमा अझै आत्मविश्वास छ। उनी कहिले आफ्ना पुराना कथा सुनाउँछिन्, कहिले चुप लागेर विगत बिर्सने कोसिस गर्छिन् ।
उनको जीवनले एउटा गहिरो सत्य उजागर गर्छ मान्छे जीवनभर संघर्ष गर्छ, कहिले परिवारका लागि, कहिले सम्बन्धका लागि, कहिले बाँच्नका लागि। तर अन्त्यमा मानिसलाई सबैभन्दा आवश्यक कुरा भनेको साथ, माया र सहारा
मानवसेवा आश्रमले सुनिताजस्तै सहाराविहीन, अभिभावकविहीन र असहाय व्यक्तिहरूलाई संरक्षण, उपचार गरी सम्मानपूर्वक जीवनयापन गर्ने अवसर प्रदान गर्दै आएको छ।
सुनिता थापा क्षेत्रीको जीवनले दुःख, संघर्ष, प्रेम, विछोड, एक्लोपनबीच अन्ततः मानवसेवा आश्रमको न्यानो छत्रछायाँ पाएको छ ।