काठमाडौँ । मानवसेवा आश्रमको काठमाडाैँस्थित रानीवन शाखामा यतिबेला ३० वर्षीय प्रमिला भुजेल शान्त मुद्रामा देखिन्छिन्। तर उनको मौनताभित्र वर्षौको पीडा, विछोड र संघर्षको गहिरो कथा लुकेको छ। सिन्धुपाल्चोक घर भएकी प्रमिलाको जीवन आजको बदलिँदो समाज र कमजोर बन्दै गएको पारिवारिक संरचनाको मार्मिक उदाहरण बनेको छ।
मायामा विश्वास गरेर, भविष्यका सुन्दर सपना बोकेर उनले विवाह गरिन्। नयाँ घर, नयाँ सम्बन्ध र सन्तानसँग रमाइलो भविष्यको कल्पना गर्दै उनले जीवनका पानाहरू अघि बढाइन्। समयसँगै १० वर्षीय छोरा प्रदीप भुजेलको जन्म भयो। आमाको काखमा संसार अटाउँथ्यो, श्रीमानको साथमा भविष्य सुरक्षित लाग्थ्यो।
तर समय सधैँ एउटै रहँदैन। बिस्तारै सम्बन्धमा दरार देखिन थाल्यो। हातखुट्टा चलाउन समस्या देखिएपछि उनी परनिर्भर बन्दै गइन्। शारीरिक कमजोरीसँगै आत्मबल पनि कमजोर हुन थाल्यो। उनले जीवनसाथीको साथ र सहारामा अघि बढ्ने विश्वास गरेकी थिइन्, तर त्यही सहाराले एक दिन साथ छाड्यो। श्रीमान् सानु भुजेलले छोरा लिएर अलग भए। प्रमिलाको काख रित्तियो, घर सुनसान भयो, र उनी एकाएक एक्लिइन्।
आफन्त र चिनेजानेका अनुहारहरू बिस्तारै टाढिँदै गए। सम्बन्धहरू फोनको स्क्रिनमा सीमित भए, साथ दिने हातहरू फिर्ता भए। जीवनको बाटो अनन्त र अँध्यारो लाग्न थाल्यो। अन्ततः उनी सडकमा पुगिन् जहाँ दिन घामले पोल्थ्यो, र रात चिसोले कँपाउँथ्यो।
दुई महिनाअघि काठमाडौँकाे सडकमा बेवारिसे र कष्टपूर्ण अवस्थामा भेटिएकी उनलाई मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा राख्यो। अहिले उनी रानीवन शाखामा सुरक्षित छिन्। नियमित खाना, उपचार र स्याहार पाइरहेकी छिन्। तर मनभित्रको खालीपन अझै हट्न सकेकाे छैन।
प्रमिला भन्छिन्, “आमाबुवा छैनन्। दिदी, दाइभाउजू हुनुहुन्छ, तर म यहाँ छु भन्ने थाहा छैन। श्रीमानसँग सुखदुःख बाँडेर जीवन बिताउने सोच थियो, तर साथ नै छुट्यो। अब कसको भर पर्नु? आश्रममै ठीक छ बरु ”
उनको स्वरमा रिसभन्दा बढी थकान सुनिन्छ। गुनासोभन्दा बढी स्वीकारोक्ति भेटिन्छ। टुटेका अपेक्षा, विछोडको पीडा र समयको कठोरता सबै उनको आँखामा झल्किन्छ।
आज समाज प्रविधिमैत्री र आधुनिक बन्दै गएको छ। सामाजिक सञ्जालमा ‘साथ सधैँका लागि’ भन्ने शब्द सजिलै लेखिन्छन्। तर कठिन समयमा त्यो साथ निभाउने साहस कमैमा मात्र देखिन्छ। प्रमिलाको कथा केवल एक महिलाको व्यक्तिगत पीडा नभई, हाम्रो समाजको बदलिँदो यथार्थको ऐना पनि हो, जहाँ सम्बन्धहरू छिटो गाँसिन्छन्, तर झन् छिटो टुट्छन्।
सडकले उनलाई अस्वीकार गरेजस्तो देखिए पनि, आश्रमको छानामुनि उनी फेरि जीवन सम्हाल्ने अभ्यास गरिरहेकी छन्। सायद भोलि उनका लागि पनि नयाँ बिहान हुनेछजहाँ विगतको पीडाले होइन, आशाले बाटो देखाउनेछ।