पोखरा । देशभर १९ औँ गणतन्त्र दिवस उल्लासपूर्वक मनाइरहेका बेला मानवसेवा आश्रम भने सडकमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको जीवन रक्षा अभियानमा सक्रिय देखिएको छ। राजनीतिक उपलब्धिको उत्सवसँगै आश्रमले असहाय नागरिकको सम्मान, सुरक्षा र संरक्षणलाई प्राथमिकता दिँदै मेची–महाकाली राष्ट्रिय उद्धार यात्रालाई निरन्तरता दिएको हो।
यो पटकको वर्षातमा कसैले बस्न नपरोस् सडकपेटीमा भन्ने मानवीय भावनासहित मानवसेवा आश्रम र आनी छोइङ ड्रोल्मा फाउन्डेसनको सहकार्यमा सञ्चालित उद्धार यात्रा शुक्रबार पोखरा, दमौली र आसपासका क्षेत्रमा केन्द्रित रह्यो। सो क्रममा २० जना सडकआश्रित सहयोगापेक्षी मानवहरूको उद्धार गरी मानवसेवा आश्रम हेमजाको संरक्षणमा राखिएकाे छ ।
उद्धार गरिएकामध्ये एक महिलाको अवस्था अत्यन्त मार्मिक थियो। सवारी दुर्घटनापछि कम्मरमुनिको भाग चल्न छाडेकी ती महिला विगत १४ दिनदेखि गण्डकी प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। उपचारपछि पनि हेरचाह गर्ने आफन्त वा अभिभावकको अभावमा अस्पतालमै बेवारिसे अवस्थामा रहेकी उनलाई उद्धार टोलीले सुरक्षित संरक्षणमा लिएको हो।
यात्राको १८औँ दिनसम्म आइपुग्दा देशका विभिन्न स्थानबाट उद्धार गरिएका सडकआश्रित मानवको संख्या १५२ पुगेको छ। यस अभियानमार्फत सडकमा बेवारिसे बनेका जीवनहरूलाई सुरक्षित आश्रय, उपचार, संरक्षण र पारिवारिक वातावरण प्रदान गर्ने प्रयास निरन्तर जारी छ।
गणतन्त्र दिवसमा समेत सञ्चालन गरिएको यस अभियानले गणतन्त्रको सार केवल राजनीतिक परिवर्तनमा सीमित नरही समाजका सबैभन्दा कमजोर र असहाय नागरिकसम्म सम्मानपूर्ण जीवनको अवसर पुर्याउनुपर्ने सन्देश प्रवाह गरेकाे छ।
पोखरा र दमौलीमा उद्धार सेवा सम्पन्न गरी यात्रामा सहभागी टोली शनिबार बिहान मुग्लिन हुँदै नुवाकोटतर्फ प्रस्थान गर्नेछ। वैशाख २७ गतेदेखि सुरु भएको यो राष्ट्रिय अभियान जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।