जनकपुर । मानवता र सेवाभावको सन्देश बोकेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ अन्तर्गत मधेश प्रदेशबाट ३५ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको छ । मानवसेवा आश्रम तथा आनी छोइङ ड्रोल्मा फाउन्डेसनको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको अभियानअन्तर्गत उद्धार गरिएकामध्ये २८ जना पुरुष र ७ जना महिला रहेका छन् ।

उद्धार टोलीले मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर सडकपेटी, बजार क्षेत्र, मन्दिर आसपास तथा सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको खोजी तथा उद्धार गरेको हो । वर्षातको मुखमा खुला आकाशमुनि जोखिमपूर्ण अवस्थामा जीवन बिताइरहेका नागरिकलाई सुरक्षित आश्रयमा ल्याउने उद्देश्यसहित अभियानलाई तीव्र बनाइएको आश्रमले जानकारी दिएकाे छ ।
उद्धारपश्चात उनीहरूलाई मानवसेवा आश्रमका विभिन्न शाखाहरुमा सुरक्षित आवास, भोजन, स्वास्थ्य उपचार, सरसफाइ तथा मनोसामाजिक परामर्शसहित संरक्षण सेवा प्रदान गरिएको छ । साथै, परिवारसँग पुनर्मिलन गराउन सकिने व्यक्तिहरूको पहिचान तथा समन्वय कार्यसमेत अघि बढाइएको छ ।

यो वर्षातमा कोही पनि बस्न नपराेस् सडकपेटीमा भन्ने मानवीय अभियानसहित सुरु गरिएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा यतिबेला देशका विभिन्न प्रदेशमा निरन्तर जारी छ । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सशक्त उदाहरणका रूपमा रहेको यो अभियान आगामी जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।
उद्धार यात्राको सातौँ दिन सोमबार टोली हेटौँडा हुँदै चितवनका विभिन्न क्षेत्रमा पुगेर बेवारिसे तथा सहयोगापेक्षी सडकआश्रित मानवहरूको खोजी, उद्धार तथा संरक्षण सेवामा केन्द्रित हुने कार्यक्रम तय भएकाे छ ।