काठमाडौँ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा सञ्चालन भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सोमबार औपचारिक रूपमा सम्पन्न भएको छ।

“यो पटकको वर्षातमा कसैले बस्न नपरोस् सडकपेटीमा” भन्ने मानवीय भावनासहित बैशाख २७ गतेदेखि सञ्चालन गरिएको उक्त अभियानले देशभरका विभिन्न स्थानबाट सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै मानवता प्रवर्द्धनमा महत्त्वूर्ण योगदान पुर्याएको छ।
एक महिनासम्म सञ्चालन भएको यात्राका क्रममा १९७ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १५८ जना पुरुष र ३९ जना महिला रहेका छन्। उद्धार गरिएका सबै व्यक्तिलाई मानवसेवा आश्रमका विभिन्न शाखाको संरक्षणमा राखी सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण प्रदान गरिएको मानवसेवा आश्रमले जनाएको छ।

यात्रा समापन समारोहसँगै सोमबार काठमाडौं महानगरपालिकालाई देशकै पहिलो सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगरपालिका घोषणा गरिएको छ। महानगरपालिकाले नेपाल प्रहरी, काठमाडौं जिल्ला प्रशासन कार्यालय र मानवसेवा आश्रमसँगको सहकार्यमा चार पक्षीय प्रतिबद्धतापत्रमार्फत उक्त घोषणालाई औपचारिकता दिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मानवीय संवेदनालाई केन्द्रमा राखेर गरिएको सहकार्यले आज नयाँ अध्याय प्रारम्भ गरेको बताउनुभयो। उहाँले काठमाडौं मन्दिर र सम्पदाको सहर मात्र नभई मानवताको सहरका रूपमा पनि परिचित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर निर्माण एक दिनको मात्र अभियान नभई निरन्तरता पाउने सामाजिक दायित्त्व भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।
साथै उहाँले मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी सम्पूर्ण यात्रीहरु योगदानको प्रशंसा गर्दै मानवताको सेवामा समर्पित कार्यका लागि धन्यवाद ज्ञापन गर्नुभयो। समापन कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सडकमा कष्टपूर्ण जीवन बिताउन बाध्य नागरिकहरूको उद्धार, संरक्षण र पुनःस्थापनाका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।
मानवसेवा आश्रम विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन अभियानमा सक्रिय रहँदै आएको छ। आश्रमले उद्धार मात्र नभई सम्मानपूर्ण जीवनयापन सुनिश्चित गर्न राज्य, स्थानीय सरकार, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्यमा अभियानलाई सुदृढ बनाइ रहेको छ ।
हाल मानवसेवा आश्रमले देशका २३ जिल्लामा सञ्चालित ३४ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ। आश्रमले आगामी दिनमा पनि नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने अभियानलाई तीव्रता दिने भएकाे छ ।