काठमाडौँ । उनको नाम दिलमाया तामाङ हो। उमेर अन्दाजी ४५ वर्ष जति देखिन्छ, तर उनी आफैं भने आफू ६० वर्ष पुगेको अनुमान गर्छिन्। उमेरजस्तै उनको जीवनकथामा पनि स्पष्टता छैन। स्मृतिका टुक्राहरू छरिएका छन्, जीवनको धार कताबाट मोडियो भन्ने उनलाई आफैं थाहा छैन।
सायद मानसिक रूपमा कमजोर भएकै कारण उनी आफ्नो जीवनबारे प्रस्टसँग केही भन्न सक्दिनन्। प्रश्न गर्दा उत्तर दिन खोज्छिन्, तर शब्दहरू अलमलिन्छन्, कथाहरू टुट्छन्। जीवनको लम्बेतान कथा उनको स्मृतिमा सुरक्षित छैन।
घर तनहुँ भएको बताउँछिन्। अविवाहित छिन्। “विवाह किन गर्नुभएन ?” भन्ने प्रश्नमा उनी सरल तर अस्पष्ट उत्तर दिन्छिन्-“मन नलागेर।” त्यो ‘मन नलाग्नु’ पछाडि के–कस्ता पीडा, डर वा परिस्थितिहरू थिए, त्यो त उनी जान्दछिन् ।
तनहुँबाट कसरी काठमाडौँ आइपुगिन्, कसरी मानवसेवा आश्रमसम्म पुगिन्, यी सबै कुरा उनलाई राम्ररी थाहा छैन। उनको कथामा समय र स्थान हराएका छन्। तर आमाबुवा तनहुँमै रहेको विश्वास उनीसँग अझै बाँकी छ। तीन बहिनी र दुई भाइ रहेको जानकारी उनी दिन्छिन्।
किन विवाह नगरी बसिन्, कहिले र कसरी मानसिक रूपमा विक्षिप्त भइन्, यी प्रश्नहरूको उत्तर उनीसँग छैन। कहिलेकाहीँ उनी तामाङ भाषामा आफ्ना कुरा अर्की साथीलाई सुनाइरहेकी देखिन्छिन्। भाषामा त परिपक्व देखिन्छिन्, तर अक्षर र लेखाइमा भने पूर्ण रूपमा निरक्षर छिन्। उनी आफ्नै नामसमेत लेख्न सक्दिनन्।
न विवाह, न सन्तान, न परिवारको साथ। अन्ततः उनी सडकमा बेवारिसे जीवन बिताउन बाध्य भइन्। सडकमा अलपत्र अवस्थामा भेटिएपछि मानवसेवा आश्रमले उनलाई उद्धार गरी तीन वर्षअघि संरक्षणमा राखेको हो।
“परिवार हुनेहरू त आश्रममा छन्, म जस्तो केही नहुने कहाँ जानुर ?” उनी उल्टै प्रश्न गर्छिन्। त्यो प्रश्नभित्र जीवनको गहिरो पीडा र यथार्थ लुकेको छ। आश्रमको माया, हेरचाह र सुरक्षाले भने उनको अनुहारमा केही उत्साह देखिन्छ।
“केही नहुनेहरूका लागि आश्रम नै घर हुने रहेछ,” उनी भन्छिन्। अब आश्रममै रमाउन थालेकी छन् दिलमाया। यही सेवा, यही माया र यही साहरामा बाँकी जीवन बिताउने प्रण उनले गरेकी छन्।
दिलमाया तामाङको कथा पनि केवल एक व्यक्तिको कथा होइन। यो कथा समाजका ती असंख्य महिलाहरूको प्रतिनिधि कथा हो, जो मानसिक स्वास्थ्य, अशिक्षा, गरिबी र सामाजिक उपेक्षाका कारण जीवनको मूलधारबाट टाढा धकेलिन्छन्। मानवसेवा आश्रमजस्ता संस्थाहरू उनीहरूका लागि केवल छाना मात्र होइन, पुनः बाँच्ने आधार बनेका छन्।