काठमाडौँ। चितवन घर भएका ६९ वर्षीय रामकृष्ण खड्का पछिल्ला चार वर्षदेखि मानवसेवा आश्रम रानीवन शाखामा बस्दै आइरहनुभएको छ। बाहिरबाट हेर्दा सामान्य देखिने उनकाे दिनचर्या भित्र भने पीडा, त्याग र मौन सहनशीलताको लामो कथा लुकेको छ। आज उनी शान्त देखिन्छन्, तर जीवनले उनलाई धेरै उतार–चढाव पार गराइसकेको छ।
३५ वर्षको उमेरमा मागी विवाह गरेर गृहस्थी जीवन सुरु गरेका रामकृष्णका एक छोरा र एक छोरी छन्। दुवै सन्तान विवाहित छन् र आ–आफ्नै गृहस्थीमा व्यस्त छन्। छोरीलाई आफू आश्रममा रहेको थाहा छ, बुहारीलाई पनि जानकारी छ। छोरा भने प्रदेशमा छन्। छोरी बेला–बेला भेट्न आउँछिन् ।
उनको जीवनमा ठूलो मोड भने १२ वर्षअघि आयो, जब श्रीमती क्यान्सरका कारण बितिन्। श्रीमतीको उपचारका लागि अस्पताल धाउनुपर्यो, धेरै खर्च भयो, तर अन्ततः रोगसँग हार मान्नुपर्यो। जीवनसाथी गुमेपछि घर सुनसान बन्यो। त्यसपछि उनले चितवन छाडेर रोजगारीको खोजीमा काठमाडौँ आउने निर्णय गरे।
काठमाडौँ आएर उनले एक पसलमा कामदारको रूपमा काम गर्न थाले। मासिक १७ हजार रुपैयाँ तलब पाएपछि कालीमाटी चोक नजिकै कोठा भाडामा लिएर बस्न थाले। जीवन फेरि बिस्तारै लयमा फर्किँदै थियो। तर नियतिले फेरि अर्को कठोर मोड ल्यायो। एक दिन काम गरिरहँदा उनी एक्कासी ढले। प्रेसरका कारण प्यारालाइसिस भएको शरीरका दायाँपट्टिका हातखुट्टा चल्न छाडे। उपचारमा लाखौँ रुपैयाँ खर्च भए पनि उनी पूर्ण रूपमा निको हुन सकेनन्।
अस्पतालमै अलपत्र अवस्थामा रहेका बेला एक जना व्यक्तिले उनलाई मानवसेवा आश्रम जान सुझाव दिए। “यस्तो बिजोग जीवन बिताउनुभन्दा आश्रममा स्वर्गजस्तै वातावरण छ,” भन्ने ती शब्दले उनलाई आश्रमसम्म ल्यायो। त्यसयता मानवसेवा आश्रम नै उनको घर बनेको छ।
परिवार भएर पनि माया र साथ नपाएपछि आफू यहाँ आएको रामकृष्ण बताउँछन्। जीवनमा केही गल्ती गरेका कारण आफू एचआईभी पोजेटिभ भएकाेमा दुःख व्यक्त गर्छन्। तर यति धेरै दुःख, रोग र एक्लोपन हुँदाहुँदै पनि उनले जीवनप्रति ठूलो गुनासो गरेका छैनन्।
घर जान मन छ कि छैन भनेर सोध्दा रामकृष्ण मुसुक्क मुस्कुराउँछन् र भन्छन्,
“खाना पाको छु, लाउन पाको छु, यसभन्दा बढी के चाहियो र हैन भन्दै प्रतिप्रश्न गर्छन् ? ”
उनका यी शब्दमा कुनै गुनासो छैन, केवल स्वीकारोक्ति छ। मानवसेवा आश्रमको सेवाप्रति पूर्ण सन्तुष्टि रहेकाे उनको शब्द र अनुहारको मुस्कानमै प्रष्ट झल्किन्छ।
आश्रमका अन्य आश्रितहरूसँग रमाउन थालेका रामकृष्णले परिवार, साथ र अपनत्वबाट टाढा भए पनि परिस्थितिलाई स्वीकार गरेर बाँच्न सिकेका छन्।
रामकृष्ण खड्काको कथा केवल एक व्यक्तिको जीवनकथा मात्र होइन। यो हजारौँ त्यस्ता वृद्धहरूको प्रतिनिधि कथा हो, जसले जीवनभर परिवारका लागि पसिना बगाए, तर बुढेसकालमा एक्लोपनसँग सम्झौता गर्नुपर्यो। उनको मौन जीवनले सहानुभूति मात्र हैन, हाम्रो समाजलाई आत्मसमीक्षा गराउन बाध्य बनाएकाे छ ।