काठमाडाैँ । धादिङका ४५ वर्षीय हरिकृष्ण दासका लागि जीवन पछिल्ला केही वर्षहरू निरन्तर पीडामा बिते । २०६५ सालमा मागी विवाह गरेर सुरु भएको पारिवारिक जीवन बिस्तारै बेमेलमा परिणत भयो। समयसँगै सम्बन्धहरू चिसिँदै गए र अन्ततः करिब एक वर्षअघि श्रीमतीले घर छाडेर अर्कैसँग गइन्। दुई छोरी र एक छोराका पिता समेत रहेका हरिकृष्ण यतिबेला आफैँ सम्हालिन नसक्ने अवस्थामा पुगेका छन्।
परिवार पाल्न उनी थलीमा मजदुरी गर्थे। पसिनासँगै बाँच्ने आशा थियो, तर एक दिन काम गर्ने क्रममा प्रेसरले एक्कासि हान्दा उनको जीवनले अर्कै मोड लियो त्यसपछि उनलाई प्यारालाइसिस भयो। लामो उपचारपछि पनि उनी पूर्ण रूपमा निको हुन सकेनन्। अहिले पनि उनको बायाँ हातले साथ दिँदैन। काम गर्न नसक्ने भएपछि आम्दानी रोकियो, साहरा खोज्ने ठाउँहरू क्रमशः टुट्दै गए।
शारीरिक असहजता, आर्थिक अभाव र पारिवारिक विछोडले गर्दा हरिकृष्णको जीवन सडकतर्फ धकेलियो। कामका लागि काठमाडौँ आइपुगेका उनी केही समयदेखि एउटा प्रतीक्षालयमा दिनरात बिताउन थाले। चिसो, भोक र एक्लोपनबीच उनी बेवारिसे अवस्थामा थिए। त्यही बेला मानवसेवा आश्रम रानीवन शाखाको टोलीले उनलाई फेला पार्यो र उद्धार गरी आश्रममा ल्यायो। यो घटना करिब दुई महिनाअघिको हो।
आश्रममा आएपछि उनको जीवनले केही सहारा पायो। उपचार, औषधोपचार, बसोबास र खानपानको व्यवस्था भयो। शरीरले राहत पायो, तर मन अझै बेचैन छ। हरिकृष्णका लागि आश्रम सुरक्षित ठाउँ भए पनि आफ्नै घरको सम्झनाले उनलाई सताइरहन्छ। “आफ्ना छोराछोरीसँगै बाँच्न पाए हुन्थ्यो,” उनको आवाजमा आज पनि त्यो चाहना सुनिन्छ।
उनका बुवाआमा दुवै छैनन्। भाइबुहारी र छोराछोरी भने धादिङकाे घरमा छन्। आफन्तहरूले आश्रममा रहेको जानकारी पाएको भए पनि हालसम्म भेट्न नआएको कुराले हरिकृष्णलाई झनै दुःखी बनाएको छ। परिवारले आफूलाई बिर्सिइएको अनुभूति उनको आँखामा झल्किन्छ।
हरिकृष्ण दासको पारिवारिक पुनर्मिलन सम्भव छ। तर त्यसका लागि परिवारका सदस्यहरू स्वयं आश्रममा आएर औपचारिक रूपमा प्रकृिया पुर्याएर मात्र पुनर्मिलन कार्य अगाडि बढ्छ । पुनर्मिलनकाे लागि मानवसेवा आश्रमले आवश्यक समन्वय र पहल जारी राखेको जनाएको छ।