काठमाडौँ । आज डिसेम्बर ३, विश्वभर ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदा मानवसेवा आश्रमको रानीवन परिसरमा ४७ वर्षीया सरिता तामाङ व्हीलचेयरमा टोलाइरहेकी थिइन्। अपांगता आएपछि घरभन्दा आश्रममै माया, सुरक्षा र आवश्यक हेरचाह पाइने विश्वाससहित उनी ३ वर्षअघि आश्रम आएकी हुन्।
काभ्रे–पाँचखालमा जन्मिएकी सरिताको बाल्यकाल सामान्य र रमाइलो थियाे । बुवाआमाको माया, दाजुभाइको संगत, घरको चहलपहल। तर समय कठोर बन्दै गयो। सबैभन्दा पहिला बुवाआमा नै परलोक गए, घरको आधार नै भत्कियो। परिवार विखण्डित हुँदै जाँदा सरितालाई जीवनका सबै जिम्मेवारी एक्लै बोक्नुपर्यो।
अर्थिक संकट हटाउन र घरका गरिखाने दैनिकी सहज बनाउन उनी वैदेशिक रोजगारीका लागि लेबनान पुगेकी थिइन्। दुई वर्षसम्म त्यहाँ काम गरेर फर्कँदा उनको हातमा खासै केही थिएन। तर परिवारप्रति कर्तव्य पूरा गरेको सन्तोष भने साथमै थियो।
यस्तैमा एक दिन अचानक रक्तचाप असामान्य रूपमा बढेपछि प्रेसरले गर्दा उनी प्यारालाइसिसले थला परिन्। देब्रे हात–खुट्टा निष्क्रिय भए, हिँडडुल गर्ने क्षमता हरायो, र शरीर एकाएक असहाय बन्न थाल्यो।
दाजुभाइ भए पनि आफ्ना–आफ्नै परिवारिक जिम्मेवारीले व्यस्त हुँदा उनको दीर्घ हेरचाह सम्भव भएन। बुवाआमाविहीन, आर्थिक रूपमा कमजोर र शारीरिक अपांगता थपिँदै जाँदा सरिता निराश जीवनतिर धकेलिँदै गइन्।
यही कठिन मोडमा छिमेकी युवक एक आशाकिरण बने । “दिदी, तपाईंको अवस्थालाई घरमा सम्हाल्न गाह्रो हुन्छ, आश्रममा लग्दा राम्रो हेरचाह पाउनुहुन्छ,” भन्दै मानवसेवा आश्रम ल्याइदिए।
आश्रममा पहिलो दिन सरितालाई अनौठो,र असहज लाग्यो। तर केही दिनमै सेवा गर्ने हातहरूको माया र समर्पणले उनको मन पगाल्न थाल्याे कोही औषधि खुवाइ सघाउथेँ दि, कोही खाना खुवाइदिन्थे, कोही व्हीलचेयरमा यताउति हिँडडुल गर्न सजिलाे पारिदिन्थे ।
आश्रममा उनले आफ्नै जस्तै अनेक कथा बोकेर आएका साथीहरू भेटिन् । कसैलाई परिवारले छाडेको, कसैलाई रोगले, कसैलाई परिस्थितिले। उनीहरू एकअर्काको पीडा बुझ्दै, सान्त्वना दिँदै, संघर्ष साझा गर्दै जोडिन्थे।
नियमित फिजियोथेरापी, औषधोपचार, ध्यान र सेवकहरूको निरन्तर स्याहारले सरिता पहिलेभन्दा धेरै आत्मविश्वासी बनेकी छन्।
उनी अझै पनि दाजुभाइले एक दिन सम्झिएर लिन आउने आशा बाेकेर बसेकी छन् । सरिता भन्छिन्- “अलि–अलि घरकाे सम्झना गर्छु, शायद कहिले त लिन आउलान्, आए भने जान्छु, नआए पनि म यहाँ सुरक्षित छु।”
सरिता तामाङको कथा केवल एक महिलाको पीडाको कथा मात्र होइन, यो समाजमा लुकेर बसेका हजारौँ आवाजहरूको प्रतिनिधि आवाज हो, जो अभाव, रोग वा परिस्थितिका कारण एक्लिँदै जान्छन्, जसकाे काेही छैन, केही छैन उनैकाे सेवामा मानवसेवा आश्रम समर्पित छ ।
मानवसेवा आश्रमले सरिताजस्ता धेरैलाई फेरि जीवन दिएकाे छ । माया, सुरक्षा, उपचार र आशासहित सरिता पनि अब आफ्नो जीवनको नयाँ अध्याय लेख्दैछिन् ।