काठमाडाैँ । १४ वर्षका विराज नाथ बाल्यकालदेखि जीवनका कठिन परिस्थितिहरूसँग जुझ्दै आएका थिए। उनी ९ कक्षामा पढ्दै गर्दा साथीहरूको लहलहैमा काम खोज्ने भनी भारतको हरियाणा गए। विराज डेढ वर्षको हुँदा आमा बितिन् र बुवाले दोश्रो बिहे गरे। भाइसहित परिवारमा चार जना भए पनि घरमा आफूलाई माया र सम्मानको अनुभूति नभएकोले विराजको मन घरमा अटाउन सकेन।
बुवाले रोजगारीका लागि भारत जानु र आमा नहुँदा अनुभव गरेको विभेदले उनलाई घर छोड्ने निर्णयमा पुर्यायो। केही समय भारतमा अल्झिएपछि उनी नेपाल फर्किए। महेन्द्रनगर हुँदै काठमाडौँ झरे, तर काठमाडौँको भीडभाडमा एक्लोपनले उनलाई थप पीडा दियो। रातको समयमा एक्लै भेटिएपछि प्रहरीले उनकाे सोधपुछ सुरु गर्यो।
विराजले आफ्नो आमा नभएको र बुवाबाट माया नपाएको दुःख प्रहरीसँग पोखे। प्रहरीले अलपत्र अवस्थामा भेटेपछि मानवसेवा आश्रम रानीवनकाे संरक्षणमा उनलाई राखियाे। अहिले विराज १० कक्षासम्मको पढाइ पूरा गर्ने तयारीमा छन्। उनी अब हजुरआमा र बुवासँग बसेर पढाइ पूरा गर्ने लक्ष्य राखेका छन्।
केवल सुरक्षा र शिक्षा मात्र होइन, मानवसेवा आश्रमले विराज जस्ता बालबालिकालाई पारिवारिक माया र सामाजिक संरचनासँग पुनःसम्बन्ध जोड्ने अवसर पनि प्रदान गर्दै आएको छ। विराजले केही समयपछि अंकल मीन नाथसँग भेट गर्न र आश्रममा आउन आग्रह पनि गरेका छन्। बाल्यकालमा नपाएको मायाकाे कमी र पीडाका बाबजुद अब उनी पढाइ पूरा गर्ने र उज्ज्वल भविष्य निर्माण गर्नेतर्फ दृढ छन्।
मानवसेवा आश्रम सडकपेटी, सार्वजनिक स्थल र जोखिमपूर्ण जीवन बिताइरहेका बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा मानसिक र शारीरिकरुपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारिक पुनर्मिलनमा समर्पित रहँदै आएकाे छ ।
मानवसेवा आश्रमको लक्ष्य २०८२ भित्र नेपाललाई ‘सहयाेगापेक्षीसडकआश्रित मानवमुक्त राष्ट्र’ बनाउनु हो। हाल सात प्रदेशका १९ जिल्लामा २९ शाखामार्फत ७७ जिल्लामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र मानवोचित व्यवस्थापन हुँदै आएको छ। आश्रम विराजको जस्ता बालबालिकाको उद्धार र पुनर्मिलनमा मात्र सीमित नभइ मानवता प्रर्वद्धन गर्दै समाज रूपान्तरमा अग्रसर रहेकाे छ ।