काठमाडाैँ । बुटवल मिलन चोक घर बताउने ४४ वर्षीय प्रकाश मिश्र अविवाहित हुन्। केही समयअघि उनी काठमाडौँको सडकपेटीमा अलपत्र अवस्थामा भेटिएका थिए। शरीरभरि चोटचोटै, अनुहारमा उदासी र शरीरले साथ नदिएर उठ्न र हिँड्न समेत नसक्ने अवस्थामा रहेका थिए। त्यही बेला मानवसेवा आश्रमको उद्धार टोलीले उनलाई बचाउने हात अघि बढायो। तत्काल उद्धार गरी सुरक्षित रुपमा मानवसेवा आश्रम रानीवनमा पुर्याइयो र स्वास्थ्य उपचारको प्रक्रिया सुरु गर्याे।
उद्धारका बेला प्रकाशको अवस्था निकै गम्भीर थियो। शरीरका विभिन्न भागमा चोट, गहिरो निलडाम र शारीरिक कमजोरीका कारण उनी सामान्य रूपमा हिँडडुल गर्न पनि अक्षम भएका थिए। शारीरिक रूपमा थलिएका उनीकाे बिस्तारै स्वास्थ्यमा बिस्तारै सुधार देखिन थाल्यो। नियमित हेरचाह, स्नेह र सुरक्षित वातावरण पाउनु नै उनको जीवनमा ठूलाे उपलब्धी बन्न पुग्यो।
कामका खोजीमा उनी काठमाडौं आएको केही महिनामै असुरक्षित यात्रा सुरु भएको रहेछ। वर्खे खेतीको जहो गर्ने आसमा उनी गाउँबाट काठमाडौँ आएका थिए। राजधानी आएपछि तिलगंगा अस्पताल नजिकैको एउटा होटलमा उनले काम पाए । काम त पाए कामअनुसार तलब नपाउदा प्रकाश निराश बने। उनले होटलमै अन्य कामदार पनि पारिश्रमिक नपाई शोषित हुँदै आएको देखेका थिए। लगातार तलब नपाएपछि उनी काम छाडेर निस्किए, तर अर्को काम पाउन नसक्दा काठमाडौँका सडकपेटीमा नै उनको बास हुन पुग्याे ।
जीवन नै भासिने गरी कमजोर बनेका प्रकाश अन्ततः सडकमै एक्लिएका थिए। त्यही बेला मानवसेवा आश्रमको उद्धार टोलीले उनीमाथि परेको संकट चिन्न सफल भयो। सडकबाट उद्धार गरेर आश्रम पुर्याएपछि उनलाई शारीरिकमात्र होइन, मानसिक रूपमा सुदृढ बनाउने प्रयास पनि निरन्तर गर्याे। एक आँखाले राम्रोसँग नदेख्ने प्रकाश बिस्तारै स्वस्थ हुँदै गए। आजभाेलि उनी आफ्नाे काम आफै गर्न सक्ने अवस्थामा पुगेका छन्।
तर, शारीरिक रूपमा ठिक हुँदै गए पनि उनको मन भने घरतिरै अल्झिएको छ। विशेषतः बुढी आमाको सम्झना उनलाई कहिल्यै नछोड्ने बताउँछन्। “आमा बाँचिरहनुभएको छ कि… उहाँकाे स्वास्थ्य कस्तो छ होला…”, यसैमा उनको मन दिनभर डुबिरहन्छ। बिरामी आमाबारे जानकारी नपाउनु उनको सबैभन्दा ठूलो पीडा बनेको छ। आफू कमजोर हुँदै गएपछि परिवारसँग सम्पर्क टुटेको र आमाको अवस्था एकदमै अनिश्चित भएको उनी बताउँछन्।
यता आश्रमको नियम अनुसार उद्धार गरिएका व्यक्तिहरूलाई तबसम्म घर फर्काइँदैन, जबसम्म परिवारको कुनै सदस्य जिम्मेवारीपूर्वक आएर लिन तयार हुँदैनन्। यही कारण प्रकाशको पारिवारिक पुनर्मिलन प्रक्रिया अहिले पनि जटिल बनेको छ। उनको परिवार खोजीका प्रयास सुरू गरे पनि परिवारका सदस्यसँग प्रत्यक्ष सम्पर्क नहुँदासम्म प्रक्रिया अगाडि बढाउन नसकिने जानकारी आश्रमले गराएकाे हाे ।
मानवसेवा आश्रम बेवारिसे, असहाय, घरबारविहीन तथा सडकमा पीडाबाट बाँचिरहेका व्यक्तिहरूको उद्धारमा सक्रिय छ। उद्धारपछि उनीहरूको उपचार, खानपान, कपडा, आवास, मानसिक सान्त्वना र पारिवारिक पुनर्मिलनसम्मको जिम्मा लिने गरी आश्रम देशभरि नै शाखा सञ्चालनमा ल्याएकाे छ । राज्यको आंशिक सहयोग र देश–विदेशका मनकारी नेपाली दाताहरूको सद्भावले आश्रमका सेवाहरू अझै सुदृढ बनेका छन्। आश्रमले हजारौँ जीवनलाई पुनर्जीवन दिँदै दुःखीकाे घाउमा मल्हम लाउने काम गरिरहेकाे छ ।
सडकमा परित्यक्त भएर जीवनसँग हार्दै गएका मानिसलाई सही समयमा हात समातिदियो भने जीवन फेरि सही बाटोमा फर्किन सक्छन् भन्ने उदाहरण हाे याे । आश्रमको यस्तै निरन्तर सेवा, समर्पण र मानवीय भावनाबाट प्रेरित भइ कार्य गरेकाे हुँदा समाजसेवाकाे क्षेत्रमा मानवसेवा आश्रम ‘सगरमाथा’ हाे भन्दा सायद फरक नपर्लाक कि ?