काठमाडाैँ । देशभर तिहार नजिकिँदै गर्दा झैँ मानवसेवा आश्रमका बुबाआमाको मन पनि हर्षले भरिएको छ। आश्रमका भित्ताहरू रङ्गिन बन्दै गएका छन्, आँगनभरि ढकमक्क फुलेका फूलहरूले तिहारको स्वागत गरिरहेका छन्। भित्तामा ताजा रङ पोतिँदै गर्दा, कोही झ्याल झ्यालमा फूल सजाइरहेका छन्, कोही आँगन बुहारीझैँ सफा गर्दै छन्। झिलिमिली बत्तीले उज्यालो पारेको आश्रमले अब तिहारको आगमन भयाे भन्ने सन्देश दिइसकेको छ।
वर्षौखि नातागोता र परिवारको स्नेहबाट टाढा रहेका बुबाआमाका लागि तिहार केवल पर्व होइन, नयाँ जीवनको प्रतीकजस्तै बनेको छ। कहिल्यै दीपावलीको उज्यालो आफ्नै घरमा देख्न नपाएका, माया पाउन नपाएका ती हातहरूले अब तिहारकाे स्वागतमा अघि बढिरहेका छन् ।

आश्रमका लागि, तिहार भनेको केवल दियो बाल्ने दिन होइन, बुबाआमाका मुहारमा खुसीको उज्यालो बाल्ने अवसर पनि हो।
तिहारले ल्याएको उमंग, रङ र उज्यालोले आश्रमका भित्तामा मात्र होइन, उनीहरूको मुटुमा पनि उज्यालो भरेको छ।
वर्षौदेखि मुहारमा खुसी हराएकाहरुसँग, न चाडपर्वको खुसी छ न त बिस्मात् नै ।
हाल मानवसेवा आश्रममा २ हजार बढी आमाबुवाहरु आश्रित रहेका छन् । जसका न परिवार छन् न त आफन्त । आश्रम नै उनीको घर परिवार र अभिभावक सबै बनेको छ ।
आश्रमले चाडपर्वको महत्त्व बुझी घरको न्यास्रो हटाउन हरेक चाडपर्व नछुटाई मनाउने गरेको हुन्छ ताकि उनीहरुलाई आफू घरबारवहीन र आफन्तविहीन हो भन्ने आभास नहोस् र वर्षौदेखि हराएका चेहेरामा पुनः उसै गरी खुसी मौलाउन सकियोस् ।

सरकारी निकायको आशिंक सहयोग र परोपकारी मनकारी दाताहरुकको सहयोगले आश्रम पूर्ण रुपमा सञ्चालन हुन सकेको छ ।
आश्रममा भएका अधिकांश बुवाआमाहरु मनोरोगी छन् । मनोरोगी उहाँहरुको उपचार भइरहेको भए पनि पूर्ण रुपमा निको नहुने अवस्था छ । जसलाई न दशैं आएको थाहा छ न तिहार नै । केवल दुई छाक भरपेट खाना खान पाए पुग्यो ।
मानवसेवा आश्रम रानीवन शाखाको संरक्षणमा रहँदै आएकी ३५ डोल्मा तामाङ घर फर्किने तयारीमा रहेकी छन् । घर कता हो दिदी भनि सोध्दा यतै कतै हो भनेर भन्न मात्र सक्षम छिन् । उनलाई न परिवार था छ न घर नै । मीठो स्वरमा बरु तामाङ गीत गाउँन सिपालु छन् ।
गीत गाएपछि नरोकिने उनी आफ्नो काम आफै गर्न त सक्छन् तर परिवारबारे अनभिज्ञ छिन् आस छ चाँडै उनको पारिवारिक पुनर्मिलन हुनेछ । त्यस्तै अर्की आमा हुन् मेनुका ढुङ्गेल जो घर कहिले भारतको बनारस बताउँछन् भने कहिले धादिङको नौबिसे ।
आश्रमा तिहारको आगमनभएसँगै तिहारका गीतले आश्रमको माहोल नै रङ्गिन भएको छ । हुन त आश्रममा चाडबार्डको बेला घन्किने गीतले आश्रमले घरको झल्को मेट्ने गर्दछ ।
त्यसैले आश्रमा परिवारको माहोल छ र त वर्षैदेखि परिवारविहीन भएकाहरुले आश्रमको न्यानो छाहारी पाउँदै आएका छन् ।
अर्का एकजना आश्रित ५० वर्षीय खगेन्द्र चोलागाईको घर दैलेख दुल्लु हो जो अविवाहित हुन् ।
सानैमा आामाबुवा बितेपछि टुहुरा बने, दाजुभाइहरु आफ्नै गृहस्थीमा व्यस्त भए ।
कामको सिलसालमा काठमाडौँ झरे र चावहिलमा तरकारी बोक्ने काम गर्थे ।
मद्यपान सेवनबाट जीवन सोचेजस्तो हुन सकेन । अव्यवस्थित जीवनले गर्दा काम गर्न नसक्ने भएपछि सडकमा बेवारिसे जीवन बिताउन बाध्य भए । सडकपेटीबाट केही समयअघि आश्रमले उद्धार गरेकाे हाे ।
सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्णमा जीवन बिताइरहेका बेवारिसे मानिसको उद्धार र तिनीहरुको मानोवचित व्यवस्थापनमा सेवा पुर्याउँदै आएको सामाजिक संस्था हो जसले हरेक चाडपर्वमा आश्रितहरुको मुहारमा खुसी ल्याउन कुनै कसर बाँकी राख्दैन ।