रामेछाप । खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकीको जीवन केही महिनाअघि सम्म फलामको बारभित्र थुनिएको थियो।
त्यो सानो कोठा, जहाँ सास त चल्थ्यो तर जीवन भने थामिएको थियो। चारैतिर अन्धकार, सन्नाटा र सडेको गन्ध। दिनेशका लागि त्यो कोठा कैदखाना थियो, जहाँ मानव भएर पनि मानवजस्तै जीवन बाँच्न पाइन न्। आज उनी त्यही पिँजडाबाट मुक्त भई नयाँ जीवनको उज्यालोतर्फ यात्रा गर्दै छन्।
२०७२ सालको विनाशकारी भूकम्पले हजारौँको घर भत्कायो, तर दिनेशको मन भत्कायो। दोस्रो तल्लाबाट हाम फालेर ज्यान त जोगाए, तर त्यस क्षणले उनको मनोविज्ञानमा गहिरो चोट पुग्याे। परिवारकाअनुसार, उनी त्यसअघि असाधारण विद्यार्थी थिए, कक्षा ९ मा पढ्दै गर्दा गाउँकै गौरव थिए। भूकम्पपछि भने उनका व्यवहारहरू अनौठा हुँदै गए। कहिले गीत गाउँथे, कहिले हाँस्थे, कहिले रिसाउँथे । सुरुमा परिवारले यो सामान्य तनाव ठाने, तर अवस्था झन् बिस्तारै बिग्रँदै गयो। अस्पतालदेखि झारफुकसम्म सबै उपाय खोजे, तर केही काम लागेन । आर्थिक बोझ बढ्दै गयो र अन्ततः असहाय बनेका परिवारले उनलाई घरकै कोठामा फलामको बार हालेर थुनिदिए।
त्यो कोठाभित्र दिनेशको जीवन साँच्चिकै नरक बन्यो। खाना, निद्रा र शौचालय सबै त्यहीँ। न संवाद, न उपचार । केवल सास चल्ने एउटा अस्तित्व। गाउँलेहरू थाहा पाउँथे, तर कोही बोल्दैनथे। मानसिक रोग अझै पनि समाजमा लाजको विषय बनेको छ, जसका कारण धेरै दिनेशहरू यस्तै कैदी जीवन बाँच्न बाध्य छन् ।
दिनेशको अवस्थाबारे खबर पाएपछि मानवसेवा आश्रमका अभियान्ता कृष्ण पौडेलको टोली खाँडादेवी पुग्यो। गाउँपालिका, प्रहरी र स्थानीयको सहयोगमा दिनेशलाई उद्धार गरियो। फलामको बार खोलेर उनलाई बाहिर निकालिँदा उपस्थित सबैको आँखा रसाए। गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भने, “दिनेशको उद्धारले हामी सबैलाई चेतना दिलायो, मानसिक स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो।”
हाल दिनेश काठमाडौँस्थित मानवसेवा आश्रमको संरक्षणमा छन्। त्यहाँ उनको उपचार, परामर्श र पुनर्स्थापनाको प्रक्रिया सुरु भएको छ। आश्रमका अभियन्ता पौडेल भन्छन्, “पहिलो पटक जब दिनेशले हल्का मुस्कान दिए, हामी सबै भावुक भयौँ। त्यो हाँसो हाम्रो लागि प्रेरणा हो।” आश्रमले हालसम्म ५ हजारभन्दा बढी सहयोगापेक्षी मानिसको घरमिलन गराइसकेको छ र अहिले पनि करिब २ हजार जना आश्रमकाे आश्रयमा छन् ।
दिनेशको कथा एउटा गहिरो सन्देश बोकेको छ मानसिक रोग लाज होइन, उपचार चाहिने अवस्था हो। नेपालमा करिब २५ प्रतिशत जनसंख्या कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन्, तर उपचार सुविधा अझै सीमित छन्। यस्तो अवस्थाले गाउँका धेरै परिवारहरूलाई अन्धकारतर्फ धकेल्दै आएको छ।
उनका शिक्षक मनोज बुढाथोकी भन्छन्, “दिनेश सानैदेखि असाधारण विद्यार्थी थिए। अहिले उनलाई फेरि मुस्कुराएको देख्दा लाग्छ, प्रतिभा कहिल्यै मर्दैन।” गाउँले अब सहज सास फेर्ने भएको छ, किनकि लामो समयदेखि फलामको बारभित्र थुनिएका दिनेशकाे आत्मा अब स्वतन्त्र भएको छ।
दिनेशको उद्धार केवल एक व्यक्तिको मुक्ति होइन, यो मानवताको पुनर्जन्म हो, हामी सबैको वरिपरि यस्ता दिनेशहरू लुकेका हुन सक्छन्, उनीहरूलाई नथुनी, उज्यालो देखाऔँ।