काठमाडौँ । जीवन पाएर पनि कैयौँ रातहरू चिसा सडकपेटी र सार्वजनिक स्थलमा अमानवीय जीवन बिताउन बाध्य भएका मानिसहरू अहिले मानवसेवा आश्रमको माया र संरक्षणमा पुनः सम्मानपूर्क जीवन बाँच्न थालेका छन्।
एकसरो लुगा र अधपेटै खानासँग दिन बिताउन बाध्य ती व्यक्तिहरू अहिले आश्रममा सुरक्षाको अनुभूति गर्दै मन हल्का पार्दै छन्।
पारिवारिक बिछोड, मानसिक तनाव, र विभिन्न सामाजिक कारणले सडकमा पुगेका यिनीहरूमध्ये कतिपय मानसिक रोगका कारण घरविहीन बने भने कतिपयको वैवाहिक जीवन असफल भएपछि सडककै शरण लिन बाध्य भएका थिए।
कसैका सग्ला घर र सन्तान रहे पनि परिवारको माया पाउन नसकेर बेवारिसे बन्न पुगे।
मानवसेवा आश्रमले यस्ता बेसहारा नागरिकहरूको उद्धार गर्दै २०८२ सालभित्र नेपाललाई सडक मानवमुक्त देश बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिरहेको छ।
आश्रमको रानीवन सेवाकेन्द्रमा बस्दै आएका बुबाहरू मंगलबारको घाम ताप्दै आ-आफ्ना साथीहरूसँग पालैपालो चेस खेल्दै रमाइरहेका थिए।
कोही धूप बाल्दै थिए, कोही धार्मिक चलचित्र हेर्दै थिए— जसले जसरी सके पनि जीवनको एउटा खुसी पल खोजिरहेका थिए।
शारीरिक रूपमा सक्षम बुबाहरूले अन्य सेवामा सहयोग गर्दै बाँकी समयमा यस्ता खेल खेल्दै समय बिताउने गर्छन्।
रानीवनमा बस्दै आएका महावीर शाक्य बुवा तीन वर्षदेखि आश्रममा आश्रित छन्।
उनी भन्छन्, “घर र परिवार हुँदा त दिन बितेको पत्तै हुन्थेन होला, तर यहाँ साथीहरूसँग चेस खेलेर समय बिताउँदा मन हल्का हुन्छ।”
त्यसै खेलमा उनलाई साथ दिन्थे मोहन पाण्डे, जो दोलखाका हुन्।
वैवाहिक जीवन असफल भई मानसिक तनावमा परेपछि सडकमा पुगेका उनलाई आश्रमले उद्धार गरी संरक्षण दिएको हो।
चेसमा दुई जना मात्रै खेल्न पाउने भएकाले पालैपालो खेल्ने गर्नुहुन्छ।
यी दुई बुबा प्रतिनिधिमूलक पात्र मात्र हुन्, आश्रमले १३ वर्षको अवधिमा १२ हजारभन्दा बढी अशक्त, बेवारिसे र असहाय बुबाआमाहरूको उद्धार गरी संरक्षण दिइरहेको छ।
हाल देशभरका विभिन्न सेवाकेन्द्रहरूमा बस्दै आएका बुबाआमाहरूको दैनिकी फेरिएसँगै सेवा, ध्यान, र खेलजस्ता क्रियाकलापले जीवनमा नयाँ उत्साह भरेको छ।
सडकमा हराएका जीवनहरू अहिले चेसको चालसँगै फेरि मुस्कुराउन थालेका छन्।