काठमाडौँ । बेवारिसे अवस्थामा रहेका ८ जनालाई मानवसेवा आश्रमले देशका विभिन्न स्थानबाट उद्धार गरी संरक्षण प्रदान गरेकाे छ । उद्धार हुनेमा ४ जना पुरुष र ४ जना महिला रहेका छन् । त्यस्तै संरक्षणमा राखेका ३ जनाको परिवार खोजी गर्दै पारिवारिक पुनर्मिलन गराएकाे आश्रमले जनाएकाे छ ।
साेही दिन आश्रमलाई आश्रमका विभिन्न शाखामा संरक्षणमा रहनुभएका आश्रितहरूको सेवा सहजीकरणका लागि देश तथा विदेशमा रहनुभएका दाताहरूबाट १४ लाख ७५ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको छ। त्यस्तै, आश्रमको सेवा सञ्चालन तथा व्यवस्थापनका लागि एकैदिन २ लाख ३ हजार ५ सय ८८ रुपैयाँ खर्च भएको आश्रमको आर्थिक विवरणमा उल्लेख छ।
आश्रमका विभिन्न शाखाको संरक्षणमा रहेका आश्रितहरूका लागि आइतबार ५६ वटा भोजन सेवा र १५ वटा खाजा सेवा सम्पन्न भएका छन्। त्यस्तै, विभिन्न प्रयोजनका लागि ७ सय ८१ जनाले आश्रमका विभिन्न शाखाको अवलोकन तथा भ्रमण गरेका हुन्। अवलोकनका क्रममा दाताहरूबाट आश्रमलाई १ लाख ३२ हजार ९३ रुपैयाँ बराबरको जिन्सी तथा खाद्य सामग्री प्रदान गरिएकाे छ ।
मानवसेवा आश्रम सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनक सेवामा समर्पित एक गैरनाफामुलक संस्था हाे ।