रुपन्देही । मानवसेवा आश्रम तिलाेत्तमाकाे संरक्षणमा रहेका चार जनाको परिवार खोजी गरी सुखद् पारिवारिक पुनर्मिलन गराइएको छ।
आश्रमको संरक्षणमा रहेका टंकबहादुर , अस्मिता चन्द, तारादेवी हरिजन र सन्तबहादुरको घरपरिवारसँग सम्पर्क गरी पारिवारिक पुनर्मिलन गराइएको हो।
६१ वर्षीय टंकबहादुर कामुलाई भदौ १९ गते तिलोत्तमा नगरपालिका–९, शंकरपुरमा नगर प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएको थियो। त्यस्तै भरतपुर–८, गौरीगञ्ज, चितवन स्थायी ठेगाना बताउने टंकबहादुरको परिवारसँग सम्पर्क गरी असोज ७ गते परिवारको जिम्मा लगाइएको हो।
त्यस्तै, २८ वर्षीया अस्मिता चन्दलाई भदौ १४ गते कोटीमाई गाउँपालिका–४, बाट इलाका प्रहरी कार्यालय माझगाउँको सहयोगमा उद्धार गरिएको थियो। मदाने गाउँपालिका–१, गुल्मी स्थायी ठेगाना भएकी अस्मिताको परिवारसँग पुनर्मिलन गराइएको हो।
६० वर्षीया तारादेवी हरिजनलाई साउन २९ गते शुक्रबार रात्रीकालीन सडकसेवाका क्रममा बुटवल उपमहानगरपालिका–६, बसपार्कबाट इलाका प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएकी मजुरा रामनगर पश्चिम चप्पर, बिहार स्थायी ठेगाना भएकी तारादेवीको परिवारसँग पुनर्मिलन गराइएको हो।
त्यसैगरी,जेठ १६ गते बुटवल उपमहानगरपालिका–४, आदर्शनगरबाट वडा प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएका बर्दघाट नगरपालिका–२, सखौरा स्थायी ठेगाना भएका २८ वर्षीय सन्तबहादुरको परिवारसँग पुनर्मिलन गराइएको छ।