चितवन । मानवसेवा आश्रम चितवनले एक जना आश्रितको सामाजिक पुनर्स्थापना गरेको छ भने दुई जनाको पारिवारिक पुनर्मिलन गराएको छ।
असोज २ गते शुक्रबारको सडकसेवाका क्रममा भरतपुर महानगरपालिका–१, पुल्चोकबाट वडा प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएकी दिलमाया दर्लामीलाई सामाजिक पुनर्स्थापना गरिएको हो। काम गरेर खान सक्ने र बस्ने स्थानसमेत रहेकी उनलाई जिम्मा लिन कोही नभएपछि स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरीको रोहवरमा सामाजिक पुनर्स्थापना गरिएको छ।

त्यस्तै, १९ गते शुक्रबार रात्रीकालीन सडकसेवाका क्रममा भरतपुर महानगरपालिका–३, सहिद चोकबाट वडा प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएकी ४९ वर्षीया जमुना नेपालीको पारिवारिक पुनर्मिलन भएको छ। भरतपुर–८, गौरीगञ्ज, चितवन स्थायी ठेगाना भएकी जमुनालाई आश्रमले आवश्यक प्रकृया पूरा गरी बुधबार परिवारकाे जिम्मा लगाएकाे हाे ।

यसैगरी, असोज ४ गते भरतपुर महानगरपालिका–१४, सुन्दरबस्तीबाट इलाका प्रहरी कार्यालय गीतानगरको सहयोगमा उद्धार गरिएकी ९० वर्षीया लक्ष्मी घलेको परिवारसँग पुनर्मिलन सम्पन्न भएको छ। बुधबार भरतपुर–२०, भीमनगर, चितवन स्थायी ठेगाना भएकी घलेकाे घरपरिवारसँग सम्पर्क स्थापित गरी परिवारको जिम्मा लगाइएको हो।

मानवसेवा आश्रमले सडकमा अलपत्र अवस्थामा रहेका सहयोगापेक्षी मानवको उद्धारसँगै परिवार खोजी गरी सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गर्दै आएको छ।