काठमाडौँ। उनी हुन् ६० वर्षीय ध्रुवप्रसाद पौडेल जसले आजसम्म पनि विवाह गरेका छैनन्। किन विवाह नगरेको भन्ने प्रश्न गर्दा उनी मुस्कुराउँदै भन्छन्, “झन्झट हुन्छ, को झन्झटमा फस्ने भनेर बिहे नै गरिनँ।”
सानै उमेरमा कामको खोजीमा उनी काठमाडौँ आएका थिए। त्यतिबेला पूर्वसांसद् गुणराज पाठकको सहयोगमा उनी काठमाडौँको बत्तीसपुतलीस्थित घरमा बस्न थाले। त्यही घरमा घरायसी काम गर्दै उनले लामो समयसम्म आफ्नो जीवन बिताए।
काम गरेबापत ठूलो पारिश्रमिक त पाएनन्, तर घरपरिवारबाट माया र स्नेह भने पाइरहे। कहिलेकाहीँ व्यक्तिगत खर्चका लागि केही रकम दिइन्थ्यो। यसरी नै वर्षौंसम्म उनी त्यही घरमा बस्दै काम गर्दै आएका थिए ।
समय बित्दै जाँदा घरका साहुको निधन भयो। त्यसपछि उनी साहुका छोरासँगै बस्दै आए। तर एक दिन घरमा विवाद भएपछि त्यहाँ बस्न नसक्ने अवस्था आयो र अन्ततः उनले घर छाडेर बाहिरिनुपर्यो।
घर छाडेपछि उनको जीवन फेरि कठिन मोडमा पुग्यो। करिब आठ दिनसम्म उनले सडकपेटीमै रात बिताउनुपर्यो। न नियमित खाना, न सुरक्षित बस्ने ठाउँ। कहिले मागेर पेट भर्ने, कहिले रक्सीको नशामा पीडा बिर्सने प्रयास गरे ।
एक दिन काठमाडौँको राममन्दिर परिसरमा उनी सुतिरहेको अवस्थामा स्थानीयले देखेपछि उद्धारका लागि खबर गरिएको थियो। त्यसपछि मानवसेवा आश्रमको टोलीले उनलाई उद्धार गरी आश्रममा संरक्षणमा राख्यो।
ध्रुवप्रसादका बुबाआमा बितेको करिब १८ वर्ष भइसकेको छ। उनकी बहिनी विवाहित भए पनि ज्वाइँको निधन भइसकेको छ र बहिनी निसन्तान छिन्। त्यसैले परिवारसँगको सहारा पनि क्रमशः टाढिँदै गएको उनी बताउँछन्।
अहिले उनी मानवसेवा आश्रम काठमाडौँस्थित रानीवन शाखाको संरक्षणमा छन्। आश्रममा सुरक्षित बसोबास, नियमित भोजन र आवश्यक हेरचाह पाइरहेका छन्।
जीवनका धेरै उतारचढाव पार गरिसकेपछि पनि उनी निकै आशावादी देखिन्छन्। मुस्कुराउँदै उनी भन्छन्, “म निरोगी छु, उमेर अझै छ, आफ्नो लागि अझै केही गर्न सक्छु जता पुगे पनि तर केही नहुने र केही गर्न नसक्नेका लागि त आश्रम स्वर्गजस्तै रहेछ।”