झापाकेन्द्रित उद्धार अभियान सुरु गर्नुअघि उद्धार यात्रीहरूले नेपालको पूर्वी नाका मेची पुलमा दीप प्रज्ज्वलन गर्दै यात्रालाई औपचारिक रूपमा अगाडि बढाएका थिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल , मेचीनगर का उपप्रमुख, बिर्तामोडका उपप्रमुख, सुरक्षा निकायका प्रमुख, समाजसेवी, पत्रकार, सामाजिक अभियन्ता तथा आश्रमका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धारका लागि थालिएको अभियानको प्रशंसा गर्दै प्रशासनका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अभियान सफलताको शुभकामना समेत दिनुभयो ।
त्यस्तै वरिष्ठ गायिका, समाजसेवी तथा आनी छोइङ ड्रोल्मा फाउन्डेसन की अध्यक्ष आनी छोइङ ड्रोल्माले समाजसेवामा आफूलाई समाहित गर्न पाउनु आफ्नो जीवनको सौभाग्य भएको बताउनुभयो ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी ले मेची–महाकाली यात्राको शुभारम्भ बिन्दु मेचीमा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले मेचीदेखि महाकालीसम्म खुला सडकपेटी, सार्वजनिक स्थल तथा मठमन्दिर परिसरमा बेवारिसे अवस्थामा रहेका सहयोगापेक्षी मानवहरूको उद्धार अभियानमा सबैले सहकार्य गर्न आग्रह गर्नुभयो ।
उहाँले झापाकेन्द्रित उद्धार अभियानलाई प्रभावकारी बनाउन प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारण सबैलाई सडकजीवन बिताइरहेका व्यक्तिहरूको पहिचान तथा उद्धारमा सहजीकरण गरिदिन अनुरोध गर्नुभयो ।
वि.सं. २०८३ भित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्यसहित अघि बढिरहेको मानवसेवा आश्रमले यस अभियानले त्यसको आधार निर्माणमा सहयाेग गर्नेछ ।