काठमाडौँ। मोरङ घर भएका ५२ वर्षीय बाबुराम गुरागाईं दुई हप्ता अघि घरमा भएको थोरै पैसा लिएर काठमाडौँ आएका थिए। श्रीमती गोमा गुरागाईंसँग लिएर आएकाे पैसा चोरी हुँदा भने उनी संकटमा परे। काठमाडौँ आइपुगेपछि तीन जनाकाे समूहले मोबाइल र पर्स चोरी गरेपछि बाबुराम बेवारिसे जस्तै बने।
अपरिचित शहरमा कोही चिनजानका थिएनन्। गौशालामा केही दिन भोकै र जाडोमा बस्नुपरेपछि उनको शारीरिक अवस्था कमजोर हुँदै गयो। एकदिन पत्रकारले भेटेर चिया–बिस्कुट दिएर तत्कालीन राहत गरे पनि दीर्घकालीन समस्याले उनलाई झन् पीडा दियाे। घर फर्किन चाहेर पनि खर्च नहुँदा र मोबाइल चोरी भएकाले परिवारसँग सम्पर्क हुन नसकेपछि बाबुरामको अवस्था झनै नाजुक बन्याे । विदेशमा भएकी छोरी मुना गुरागाईं र मोरङस्थित परिवारलाई सम्पर्क गर्ने प्रयास भइरहेको तर घरको नम्बर बन्द रहेकाले समस्या भएको आश्रमले जनाएको छ।
केही दिनअघि सडकमा भौतारिरहेका उनलाई नेपाल प्रहरीले उद्धार गरी मानवसेवा आश्रम रानीवन शाखामा पुर्यायो। आश्रमले उनलाई उपचार, खानपान, कपडा र सुरक्षित आवासको व्यवस्था गर्दै सम्मानपूर्वक बसोबास गराइरहेको छ।
आश्रमले बाबुरामको परिवार खोजी प्रक्रिया अघि बढाइसकेको छ। आश्रमको नियमअनुसार परिवारका सदस्य आएर जिम्मा लिएपछि मात्र पुनर्मिलन हुने भएकाले हाल उनी प्रतीक्षामा छन्। अहिलेसम्म न परिवारका कोही सदस्य सम्पर्कमा आएका छन् न कुनै चिनजानका व्यक्तिले सूचना दिएका छन्। यसै कारण आश्रमले पारिवारिक पुनर्मिलनको उद्देश्य पूरा गर्न सबैलाई सहयोगको आग्रह गरेको छ।
देशभर २९ शाखामार्फत असहाय, सडकआश्रित तथा बेवारिसे व्यक्तिहरूको उद्धार र संरक्षण गरिरहेको मानवसेवा आश्रमले बाबुरामको घटनालाई मानवीय सहयोगको महत्त्वपूर्ण उदाहरणका रूपमा लिएको छ।
बाबुराम गुरागाईंको कथा केवल एक व्यक्तिको पीडा मात्र होइन, यो एक्लोपन, संकट र सहायताले जीवनमा ल्याउने उज्यालोको वास्तविक चित्र हो। कसैले हात थापिदिँदा अँध्यारो जीवन उज्यालो बन्न सक्छ भन्ने प्रमाण बाबुराम स्वयं हुन् ।