पाेखरा । मानवसेवा आश्रमले पाेखरास्थित हेम्जा शाखाले निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिधाम धर्मशाला स्थापना तथा अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यले वैशाख १९ देखि २६ गतेसम्म श्रीमद्भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८३ आयोजना गर्ने भएको छ।
साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आश्रमले साेबारे जानकारी दिएकाे हाे ।

महायज्ञबाट संकलित रकममार्फत निर्माणाधीन भवन वि.सं २०८३ असोज मसान्तभित्र सम्पन्न गरी करिब ३ जना सहयोगापेक्षी मानवहरुलाई सेवा दिने लक्ष्य राखिएको आश्रमले उल्लेख गरेकाे छ ।
साथै दीर्घकालीन सेवा व्यवस्थापनका लागि अक्षयकोष सुदृढ गर्ने, मन्दिर निर्माण पूरा गर्ने तथा मुक्तिनाथ जाने तीर्थयात्रीका लागि धर्मशाला निर्माण गर्ने योजना आश्रमकाे रहेकाे छ ।

महायज्ञ आगामी वैशाख १९ गते बिहान कलश यात्रा र उद्घाटन कार्यक्रम हुनेछ भने त्यसपछिका हेरक दिनहरूमा निःशुल्क योग शिविर, निःशुल्क स्वास्थ्य सेवा तथा प्रेरणात्मक कार्यक्रम सञ्चालन हुनेछन् । महायज्ञमा कथावाचकका रुपमा भागवत भाष्कर कमलनयन गौतम रहनुहुने कार्यक्रम तय भएकाे आश्रमले जानकारी दिएकाे छ ।
आश्रमले महायज्ञ आयाेजना गर्नुकाे मुख्य उद्देश्य आर्थिक संकलन मात्र नभइ धर्म, संस्कार, सामाजिक सेवा र मानवताको सन्देश प्रवाह गर्नु रहेकाे उल्लेख गरेकाे छ ।

साथै आश्रमले महायज्ञ सफल बनाउन देश–विदेशमा रहेका मनकारी दाताहरू तथा सर्वसाधारणलाई पुण्यकार्यमा सरिक भई सहयोग गरिदिन हुन आग्रह समेत गरेकाे छ ।