पोखरा । मानवसेवा आश्रमद्वारा आयोजित १४ औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ शनिबार सम्पन्न भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्टसहित सञ्चालन गरिएको महायज्ञ वैशाख १९ गतेदेखि २६ गतेसम्म पोखरा–२५ हेमजा स्थित आश्रम प्राङ्गणमा सञ्चालन गरिएकाे हाे ।
-1778072992.jpg)
महायज्ञ अवधिभर श्रद्धालु भक्तजन, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, धर्मप्रेमी तथा दाताहरूको उत्साहजनक सहभागिता रहेको थियो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गाैतमले निःशुल्क रुपमा कथा वाचन गर्नुभएकाे हाे ।

दैनिक रूपमा सञ्चालन गरिएको भागवत कथा वाचन, भजन–कीर्तन, योग शिविर, विद्यार्थी लक्षित उत्प्रेरणात्मक कार्यक्रम, आरती तथा निःशुल्क स्वास्थ्य शिविरले धार्मिक तथा आध्यात्मिक वातावरणलाई थप प्रभावकारी बनाएको थियो ।
महायज्ञबाट मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिका लागि नगद, जिन्सी, क्यूआर तथा प्रतिबद्धतासहित कुल ३ करोड ३ लाख रुपैयाँ बराबरको सहयोग रकम प्राप्त भएको यज्ञ मूल आयोजक समितिले जानकारी दिएकाे छ ।

हाल निर्माणाधीन भवनको करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र महायज्ञबाट प्राप्त सहयोगले बाँकी निर्माण कार्यलाई थप गति प्रदान हुने विश्वास गरिएकाे छ । पोखरा महानगरपालिका, प्रदेश तथा संघीय सरकारसँगै विभिन्न दाताहरूको निरन्तर सहयोगले सेवा अभियानलाई सशक्त बनाएको आश्रमले जनाएको छ ।

महायज्ञ केवल आर्थिक संकलनको अभियान मात्र नभई धार्मिक, सामाजिक तथा मानवीय चेतना अभिवृद्धि गर्ने माध्यमका रूपमा सफल भएको आयोजकले उल्लेख गरेका छन् । समापन समाराेहमा बाेल्दै यज्ञ संयाेजक अनिलकुमार शाहीले महायज्ञलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण श्रद्धालु भक्तजन, दाता, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सहयोगी संघसंस्थाप्रति हार्दिक आभार व्यक्त गर्नुभयाे ।