पोखरा । पितृ मोक्ष तथा शान्तिको अभिष्टसहित मानवसेवा आश्रम, पोखरा–२५ हेमजामा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दाताहरूको उत्साहजनक सहभागिता निरन्तर जारी रहेको छ।
सोही क्रममा पोखरा–०६, बैदाम निवासी आदरणीय श्री तेज बहादुर भट्टराई तथा श्रीमती मिना भट्टराईज्यूले मानवसेवा आश्रमको भवन निर्माण सम्पन्नताका लागि रु. ७,००,००५ (सात लाख पाँच रुपैयाँ मात्र) सहयोग प्रदान गर्नुभएको छ।
मानवतामूलक सेवा, करुणा र सामाजिक उत्तरदायित्वको भावनासहित प्रदान गरिएको उक्त सहयोगले आश्रमको भवन निर्माण कार्यलाई थप गति प्रदान गर्नुका साथै सहयोगापेक्षी, असहाय तथा सडकआश्रित मानवहरूको सेवा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
मानवसेवा आश्रमले विगतदेखि नै सडकमा बेसहारा जीवन बिताइरहेका नागरिकहरूको उद्धार, संरक्षण, उपचार तथा पुनःस्थापनाको कार्य गर्दै आइरहेको छ। यस्ता स्थायी संरचनाहरूको निर्माणले दीर्घकालीन रूपमा सेवा विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।
महायज्ञमा दाताहरूको सक्रिय सहभागिता, सद्भाव र निरन्तर सहयोगले अभियानलाई थप ऊर्जा मिलेको छ। यसै क्रममा भट्टराई दम्पतीद्वारा प्रदान गरिएको सहयोगप्रति यज्ञ मूल आयोजक समितिले हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गरेको छ।
मानवसेवा आश्रमले सम्पूर्ण सहयोगी दाताहरू, भक्तजन तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्दै मानवता प्रवर्द्धन महाअभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।