पोखरा । मानवसेवा आश्रमले वैशाख १९ देखि २६ गतेसम्म पोखरा–२५, हेमजामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह, पितृ–उद्वार ज्ञानविज्ञान महायज्ञकाे आयव्यय विवरण सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। महायज्ञबाट ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ दान संकलन भएकोमा ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ सञ्चालनमा खर्च भई ३ करोड ४ लाख ५९ हजार १ सय ८४ रुपैयाँ बचत भएको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिनुभयाे ।
महायज्ञबाट प्राप्त बचत रकम मानवसेवा आश्रमको हेमजा शाखाको निर्माणाधीन भवन, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा आश्रमको अक्षयकोष विस्तारमा खर्च गरिनेछ। आश्रमका अध्यक्ष रामजी अधिकारीले सेवा प्रवाहलाई दीगो, व्यवस्थित र प्रभावकारी बनाउन अक्षयकोष विस्तार आवश्यक रहेको उल्लेख गर्दै सहयोगी दाताप्रति आभार व्यक्त गर्नुभएकाे हाे ।

हाल मानवसेवा आश्रमको हेमजा र छोरेपाटन शाखामा गरी २ सय ५४ जना सहयोगापेक्षी सडकआश्रित मानव आश्रित रहेका छन्। आश्रितहरूको भोजन, आवास, स्वास्थ्य उपचार, हेरचाह तथा पुनःस्थापनालगायत सेवाका लागि मासिक करिब १९ लाख रुपैयाँ खर्च हुने गरेको आश्रमले जानकारी दिएकाे छ ।
वि.सं. २०६९ सालमा हेटौँडाबाट सेवा शुभारम्भ गरेको मानवसेवा आश्रमले हाल देशका २३ जिल्लामा सञ्चालित ३४ शाखामार्फत सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार, पारिवारिक पुनर्मिलन र पुनःस्थापनाको सेवा सञ्चालन गर्दै आइरहेकाे छ। आश्रमले नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घाेषणा गर्ने अभियानलाई तीव्रताका साथ अगाडी बढाइरहेकाे छ ।