सुर्खेत । सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय ‘लक्ष्मीनारायण आवास’ भवन निर्माणको कार्य सुर्खेतमा औपचारिक रूपमा सुरु गरेको छ।
आश्रमले गत वर्ष मंसिर २१ देखि २८ गतेसम्म सुर्खेत खुलामञ्चमा भवननिर्माण सहयोगार्थ सञ्चालन गरेको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञबाट संकलित रकम भवन निर्माणमा खर्च गरिने भएको छ।
२०७५ साल माघ १८ गते ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त कर्णाली प्रदेश’ निर्माण गर्ने लक्ष्यसहित आश्रमले सुर्खेतको वीरेन्द्रनगर–१२, नेवारेमा आफ्नो १२औँ शाखा विस्तार गरेको थियो। उक्त लक्ष्यअनुरूप २०७६ माघ ४ गते प्रदेश सरकारको सहकार्यमा कर्णाली प्रदेशलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पहिलो प्रदेश’ घोषणा गरिएको थियो।
सुर्खेत शाखाले हालसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ४सय ८२ जनाको उद्धार गरिसकेको छ। हाल ३६ महिला, ४८ पुरुष, ३ बालक र ४ बालिकासहित ९१ जना आश्रित आश्रमको संरक्षणमा छन्। भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको शाखाले अब आफ्नै स्थायी भवनबाट सेवा प्रवाह गर्ने लक्ष्यसहित महायज्ञबाट संकलित रकममध्येको केही रकम प्रयोग गरेर वीरेन्द्रनगर–११, चारकुनेमा १४ कट्ठा जग्गा खरिद गरी ‘लक्ष्मीनारायण आवास’ निर्माण थालनी गरेको हो।
यही रकमबाट निर्माण हुन लागेको भवनको भूमिपूजन कार्यक्रम शुक्रबार बिहान १० बजे भवन निर्माण स्थल, वीरेन्द्रनगर–११, चारकुनेमा सम्पन्न भएको छ। प्रदेश सरकारले महायज्ञमा व्यक्त गरेको प्रतिबद्धताअनुसार १ करोड ५० लाख लागतमा निर्माण हुने ‘नारायण आवासीय भवन’ र वीरेन्द्रनगर नगरपालिकाले निर्माण गर्ने ३ करोड २४ लाख लागत अनुमान गरिएको ‘लक्ष्मी आवासीय भवन’को शिलान्यास गरिएको छ।