तनहुँ । तनहुँ जिल्लाको दमौलीमा जन्मिएका गंगारामको बाल्यकाल अरू बालबालिकाको जस्तो सहज र सुखद रहेन। बाबुआमाको माया, स्नेह र अभिभावकत्व पाउन नसकेका उनी सानै उमेरदेखि अभाव र अनेकौँ कठिनाइसँग जुध्दै हुर्किए। बाल्यकालमै उचित संरक्षण, मार्गदर्शन र पारिवारिक साथबाट वञ्चित भएका उनी करिब ६ वर्षको उमेरदेखि नै लागूऔषध दुर्व्यसनको दलदलमा फस्न पुगे।
सानो उमेरमै गलत साथीहरूको संगत र उचित मार्गदर्शनको अभावले उनको जीवनलाई दुर्व्यसनतर्फ धकेल्दै लग्यो। केही समय उनी पोखरास्थित एक क्रिश्चियन संस्थामा बसे। त्यहाँ खानपान, बसोबास र कामको व्यवस्था भए पनि औपचारिक शिक्षा हासिल गर्ने अवसर भने पाएनन्। संस्थामा रहँदासमेत साथीहरूको संगतका कारण दुर्व्यसनबाट मुक्त हुन नसकेपछि अन्ततः उनले उक्त संस्था छोडे।
त्यसपछि विवाह गरेर नयाँ जीवनको सुरुवात गर्ने प्रयास गरे। जीवनमा अब केही सहजता आउला र आफ्नो पनि एउटा परिवार होला भन्ने आशा गरेका गंगारामको वैवाहिक जीवन भने लामो समय टिक्न सकेन। श्रीमतीले उनलाई छोडेर अर्कै व्यक्तिसँग विवाह गरेपछि उनी फेरि एक्लो जीवन बिताउन बाध्य भए। जीवनमा साथ दिने र दुःखसुख बाँड्ने कोही नभएपछि उनी पुनः पुरानै दुर्व्यसनको बाटोमा फर्किए।
जीविकोपार्जनका लागि उनी दिनभरि सामान लोड तथा अनलोड गर्ने काम गर्थे। दिनभरि श्रम गरेर साँझ फर्किएपछि भने साथीहरूको संगतमा मदिरा तथा लागुऔषध सेवन गर्ने उनको दिनचर्या बन्दै गयो। यसरी अभाव, एक्लोपन र दुर्व्यसनसँगै बितिरहेको उनको जीवनमा एक दिन अर्को ठूलो बज्रपात आइलाग्यो।
मदिरा सेवन गरेको अवस्थामा लड्दा उनका दुवै खुट्टा भाँचिए। दुवै खुट्टा भाँचिएपछि हिँडडुल गर्न र काम गर्नसमेत नसक्ने अवस्थामा पुगेका उनी झनै बेवारिसे बने। न उपचार गरिदिने कोही थियो, न त दुःखमा साथ दिने आफ्ना भन्ने नै। शारीरिक पीडाबीच उनी सडकमा अलपत्र पर्न पुगे। जीवन धान्नसमेत कठिन हुने अवस्थामा पुगेका गंगारामका लागि सडक नै बाध्यताको आश्रयस्थल बन्न पुग्यो।
गंगारामको अवस्थाबारे जानकारी प्राप्त भएपछि असाेज २० गते जिल्ला प्रहरी कार्यालय लमजुङ र मानवसेवा आश्रम लमजुङको संयुक्त पहलमा उनको उद्धार गरियो। उद्धारपश्चात् उनलाई मानवसेवा आश्रम लमजुङमा ल्याई आवश्यक उपचार, हेरचाह र संरक्षणको व्यवस्था मिलाइयो। लामो समयदेखि उपचारको अभावमा पीडा सहँदै आएका उनका दुवै खुट्टाको उपचार गरियो।
जीवनको लामो समय अभाव, उपेक्षा, दुर्व्यसन र एक्लोपनमा बिताएका गंगारामले आश्रममा आएपछि पहिलोपटक सुरक्षित बसोबाससँगै आत्मीयर पारिवारिक वातावरणको अनुभूति गर्ने अवसर पाए ।
गंगारामको विगत सहज थिएन। बाल्यकालमा गुमाएको अभिभावकीय माया, जीवनमा भोग्नुपरेको विछोड र दुर्घटनाले दिएको शारीरिक पीडा उनका जीवनका कहिल्यै बिर्सन नसकिने जीवनका अध्याय हुन्। विगतका तीतामीठा पीडादायी क्षणहरू फर्काएर बदल्न नसकिए पनि उनको वर्तमान र भविष्यलाई सहज, सुरक्षित तथा सम्मानजनक बनाउन सकिन्छ भन्ने मान्यतासहित मानवसेवा आश्रमले उनलाई माया, संरक्षण र आवश्यक हेरचाह प्रदान गरिरहेको छ।
हाल गंगाराम मानवसेवा आश्रम लमजुङमा आश्रित छन्। जीवनमा साथ र सहारा गुमाएका उनका लागि आश्रम केवल बस्ने ठाउँ मात्र नभई माया र आत्मीयताले बनेकाे सुन्दर एउटा घर बनेको छ।