काठमाडाैँ । स्मृतिले पनि कहिलेकाहीँ मानिसलाई कति निर्दयी बनाउँदो रहेछ त्यसकाे एक उदाहरण हुन् काभ्रेका जीवन खत्री । उनलाई आफ्नो घर सम्झना छ, घरमा आमा, बुवा र भाइ छन् भन्ने सम्झना छ, तर त्यही घरका मानिसहरूको नाम सम्झन खोज्दा उनको स्मृतिले साथ छोडिदिन्छ। आफ्नो घरकाे ठेगाना सम्झिरहेका जीवन आफ्नै परिवारका मानिसहरूको नाम भने सम्झन सकिरहेका छैनन्।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ लाई आफ्नो घर बताउने जीवन खत्रीलाई वि.स २०८१ साल साउन १६ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ बाट उद्धार गरिएको थियो। त्यसयता उनी मानवसेवा आश्रम रौतहट शाखाकाे संरक्षणमा रहेका छन्। वर्षौँको आश्रयसँगै उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ। अहिले आफूले सकेको काममा हातेमालो गर्दै उनी आश्रमका सेवामा समेत सहजीकरण गरिरहेका छन्।
तर शरीरमा आएको सुधारसँगै मनमा एउटा पुरानो खोज अझै उस्तै छ घर र आफन्तकाे खाेजी ।
जीवनलाई आफ्ना बुवाको नाम मुकुन्दे हो भन्ने सम्झना छ। घरमा आमा, बुवा र भाइ छन् भन्ने पनि उनलाई थाहा छ। तर आमाको नाम के हो, भाइको नाम के थियो यी सामान्य लाग्ने प्रश्नहरू उनका लागि कठिन बनेका छन्।
समयले मानिसको जीवनबाट धेरै कुरा टाढा लैजान सक्छ। तर आफ्ना मान्छेको सम्झना मेटिँदा त्यसले छोड्ने खालीपन कति गहिरो हुन्छ, सायद जीवनको मौनताले त्यही बताइरहेको छ।
उनले आफ्नो घरको ठाउँ बिर्सिएका छैनन्। पनौती नगरपालिका–७, काभ्रेपलाञ्चोक अझै उनको स्मृतिमा सुरक्षित छ। र त उनमा आफ्नो परिवारसँग पुनः भेट हुने आशा पनि मरेको छैन। उनलाई केवल यति थाहा छ । कहीँ न कहीँ उनका आफ्ना मान्छेहरू छन्, एउटा घर छ, जहाँबाट उनी कुनै समय छुट्टिएका थिए।
आज जीवन आश्रममा आश्रित छन्। सुरक्षित छन्। स्वास्थ्यमा सुधार हुँदै गएकाे । आफूले सकेको सेवामा जुटिरहेका छन्। तर जीवनको सबैभन्दा ठूलो अभाव खाना, नाना र छानाको होइन; आफ्ना मान्छेको हो। वर्षौँदेखि टाढिएको त्यो परिवारसँग फेरि जोडिन पाउनु नै उनका लागि सबैभन्दा ठूलो घरफिर्ती हुनेछ।
सायद काभ्रेको कुनै घरमा आज पनि जीवनको प्रतीक्षा बाँकी होला। सायद कसैले वर्षौँदेखि हराएको आफ्नो मान्छेको खबर पर्खिरहेको होला। र सायद जीवनले सम्झन नसकेका ती नामहरू उनका परिवारले आज पनि सम्झिरहेका होलान्।
जीवनको स्मृतिमा घर बाँकी छ। अब त्यो घरसम्म पुग्ने उनका मान्छेहरू भेटिन बाँकी छन्।
तपाईं जीवन खत्री वा उनकाे परिवालाई चिन्नुहुन्छ कृपया मानवसेवा आश्रमकाे सम्पर्कमा आइ पारिवारिक पुनर्मिलनमा सहयोग गरिदिनुहुन अनुराेध गर्दछाैँ । धन्यवाद