काठमाडौँ । उद्धार तथा पारिवारिक पुनर्मिलन अभियानलाई निरन्तरता दिँदै मानवसेवा आश्रमले कार्तिक महिनाभर देशका विभिन्न स्थानबाट बेवारिसे जीवन बिताइरहेका २ सय ३० जना सडकआश्रित मानवको उद्धार गरेको छ। उद्धार गरिएका १ सय ७१ जना पुरुष र ५९ जना महिलालाई आश्रमका विभिन्न शाखाको संरक्षणमा राखिएको छ।
त्यस्तै, सोही अवधिमा परिवार पहिचान भएका ९६ जनाको पारिवारिक पुनर्मिलन गराइएको आश्रमको उद्धार तथा पारिवारिक पुनर्मिलन विभागले उल्लेख गरेकाे छ।
शाखागत विवरणअनुसार सबैभन्दा बढी काठमाडौँस्थित पशुपति होल्डिङ सेन्टरले ७५ जनाको उद्धार र २० जनाको पारिवारिक पुनर्मिलन गराएको छ। सुनसरी शाखाले ३७ जनाको उद्धार र १५ जनाको पुनर्मिलन गराएको छ।
त्यसैगरी, रुपन्देहीस्थित तिलोत्तमाले १७ जनाको उद्धार र ८ जनाको पुनर्मिलन गराएको छ भने चितवनले १६ जनाको उद्धार र ४ जनाको पुनर्मिलन गराएको छ। झापाले १३ जनाको उद्धार र २ जनाको पुनर्मिलन गराएको छ।
त्यस्तै दाङ शाखाले १२ जनाको उद्धार र १५ जनाको पारिवारिक पुनर्मिलन गराएको हाे। काठमाडौँस्थित रानीवन शाखाले १० जनाको उद्धार र ४ जनाको पुनर्मिलन, रौतहट शाखाले ९ जनाको उद्धार र ५ जनाको पुनर्मिलन गराएको छ। मकवानपुरस्थित आश्रमको मुख्य कार्यालयले ७ जनाको उद्धार र १ जनाको पारिवारिक पुनर्मिलन गराएको हाे।
मानवसेवा आश्रम वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट स्थापना भएको सामाजिक संस्था हो। हाल देशका २४ जिल्लामा ३५ शाखामार्फत सेवा विस्तार गर्दै आएको आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनका क्षेत्रमा सेवा सञ्चालन गर्दै आइरहेकाे छ ।