काठमाडौँ । दुई वर्षअघि सडकमा बेवारिसे अवस्थामा भेटिएका चन्द्रमाको जीवनमा अहिले उल्लेखनीय परिवर्तन आएको छ। २०८१ सालमा सञ्चालित मेची–महाकाली उद्धार यात्राका क्रममा धादिङको गजुरी क्षेत्रबाट उद्धार गरिएका उनी अहिले काठमाडौँस्थित मानवसेवा आश्रमको रानीवन शाखामा आश्रित छन्।
लामो समयदेखि शिरमा चन्द्रमाको आकारको वस्तु बोकेर हिँड्ने गरेका कारण स्थानीयवासीले उनलाई चन्द्रमा भनेर चिन्ने गरेका थिए। मानसिक रूपमा अस्वस्थ रहेका उनी सडकमा अत्यन्त कठिन परिस्थितिमा जीवन बिताइरहेका थिए। खानपानको नियमित व्यवस्था थिएन। कसैले खाना दिए खाने, नत्र भोकै बस्नुपर्ने अवस्था थियो। आफ्नो परिचय र अवस्था बताउन नसक्ने उनी वर्षौँदेखि सडकमा आश्रित थिए।
उद्धारपछि उपचार तथा नियमित खानपान, उपचार र आवश्यक स्याहारसुसारसँगै उनको स्वास्थ्य अवस्थामा सुधार आउँदै गयो। अहिले उनी पहिलेको तुलनामा निकै सक्रिय भएका छन्।
आश्रममा बसोबास गर्ने क्रममा उनी दैनिक सेवाका काममा समेत सहभागी हुन थालेका छन्। कसैले काम गर्न आग्रह नगरे पनि आफूले गर्न सक्ने काममा आफैँ अग्रसर हुन्छन्।
उद्धारका बेला आफ्नो दैनिक आवश्यकता पूरा गर्नसमेत असमर्थ रहेका चन्द्रमा अहिले आफूले सकेको काम गरेर आश्रमको सेवामा सहयोग पुर्याइरहेका छन्। दुई वर्षको अवधिमा उनको अवस्थामा आएको परिवर्तनले उचित उपचार, हेरचाह र आत्मीय वातावरणले व्यक्तिको जीवनमा पार्न सक्ने सकारात्मक प्रभावलाई देखाएको छ।
तर, उनको जीवनको अर्को महत्वपूर्ण पक्ष अझै ओझेलमै छ। उनी बोल्न सक्दैनन्। आफ्नो घर, परिवार र विगतबारे जानकारी दिन नसक्दा उनका आफन्तको पहिचान हुन सकेको छैन। परिवारको खोजी गरी पुनर्मिलन गराउने प्रयास भइरहे पनि आवश्यक जानकारीको अभावमा प्रक्रिया अघि बढाउन कठिन भएकाे आश्रमले जनाएकाे छ ।
उद्धारपछि आश्रमको संरक्षणमा उनको जीवनले नयाँ दिशा लिएको छ। अब उनको पारिवारिक विवरण पत्ता लगाइ लामो समयदेखि टाढिएका आफन्तसँग आश्रमले भेट गराउने प्रयास गरिरहेकाे छ ।
विसं २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सेवा शुभारम्भ गरेको मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित आफ्नो सेवा विस्तार गर्दै आएको छ।