काठमाडौँ । पितृहरूको सम्झना र सम्मानमा गरिने सोह्रश्राद्ध सुरु भएसँगै मानवसेवा आश्रमका विभिन्न शाखाहरूमा शनिबार ९५ वटा भोजन सेवा तथा २० वटा खाजा सेवा सम्पन्न भएका छन्।
हिन्दु धार्मिक परम्पराअनुसार दिवंगत पितृहरूको सम्झना, सम्मान र आत्मशान्तिको कामना गर्दै श्राद्ध गर्ने गरिन्छ। भाद्र शुक्ल पूर्णिमापछि सुरु हुने पितृपक्षमा दिवंगत आफन्तको तिथिअनुसार श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने परम्परा छ। पितृप्रति श्रद्धा व्यक्त गर्ने यस अवधिलाई धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।
साेही अवसरमा आफ्ना दिवंगत पितृहरुकाे स्मृतिलाई मानवसेवासँग जोड्दै विभिन्न व्यक्ति तथा परिवारले आश्रममा आश्रित आमाबुबा तथा बाबुनानीका लागि भोजन र खाजा सेवा याेगदान गरेका हुन्। श्राद्धका अवसरमा गरिने श्रद्धालाई सेवामार्फत व्यक्त गर्ने क्रमले धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई समेत जोडेको छ।
शनिबार सम्पन्न सेवामा ९५ वटा भोजन तथा २० वटा खाजा समावेश छन्। सोह्रश्राद्धबाहेक जन्मदिन, वैवाहिक वर्षगाँठ, पुण्यतिथि तथा अन्य विशेष अवसरमा पनि आश्रममा आश्रित मानवहरूको भोजन व्यवस्थापनका लागि सहयोग हुँदै आइरहेकाे छ।
आफ्ना प्रियजनको सम्झनामा गरिने श्रद्धालाई आवश्यकतामा रहेका मानिसको सेवासँग जोड्दा खुसी र पीडा दुवै बाँड्ने अवसर बन्ने गरेको छ। यस्ता योगदानले आश्रममा आश्रित आमाबुबा तथा बाबुनानीका लागि नियमित भोजन व्यवस्थापनमा सहयोग पुग्नुका साथै मानवसेवाको अभियानलाई निरन्तरता दिन टेवा पुगेको आश्रमले जनाएको छ।
आश्रममा आश्रितहरुकाे भोजनसेवामा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी दाताहरूप्रति मानवसेवा आश्रमले आभार व्यक्त गरेको छ।