काठमाडौँ । भारतस्थित श्रद्धा रिह्याबिलिटेसन फाउन्डेसनको सहकार्यमा २९ जना भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि बिदाइ गरिएको छ।
खुला सडकपेटी तथा सार्वजनिक स्थलमा मानसिक तथा शारीरिक रूपमा कमजोर भइ बेवारिसे जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार गरी सम्मानजनक जीवनयापनकाे लागि वातावरण उपलब्ध गराउँदै आएको मानवसेवा आश्रमले विभिन्न समयमा उद्धार भई उपचारपछि स्वास्थ्य लाभ गरिरहेका तथा परिचय खुलेका भारतीय नागरिकहरूको पुनर्मिलन प्रक्रिया अघि बढाएको हो।
सोही क्रममा मानवसेवा आश्रम शाखा कार्यालय विराटनगरले शनिबार २९ जना भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि श्रद्धा रिह्याबिलिटेसन फाउन्डेसनलाई जिम्मा लगाउँदै बिदाइ गरेको छ।
मानवसेवा आश्रमका देशभरका विभिन्न शाखामा संरक्षणमा रहेका भारतीय नागरिकहरूको पहिचान गरी पुनर्मिलन सम्भव हुनेहरूलाई विराटनगर शाखामा एकत्रित गरी बिदाइ गरिएको हो। जसअन्तर्गत विराटनगर शाखाबाट ६ जना, जनकपुरबाट ८ जना, बागलुङबाट २ जना, सर्लाहीबाट ७ जना र झापाबाट ६ जना गरी जम्मा २९ जनालाई पारिवारिक पुनर्मिलनका लागि बिदाइ गरिएको आश्रमले जनाएको छ।
आश्रमका अनुसार भारतमा पहिचान खुलेका नागरिकहरूको कानुनी प्रक्रिया पूरा गरी सुरक्षित स्वदेश फिर्ताका लागि श्रद्धा फाउन्डेसनसँग सहकार्य हुँदा पुनर्मिलन प्रक्रिया छिटो, सुरक्षित र प्रभावकारी बन्दै गएको छ।
नेपाल–भारत खुला सिमानाका कारण मानसिक अवस्था कमजोर भएका वा विभिन्न कारणले परिवारबाट टाढिएका भारतीय नागरिकहरू नेपालमा बढी भेटिने गरेका छन्। रोजगारीका क्रममा नेपाल आएर अलपत्र परेका, वर्षौँदेखि परिवारसँग सम्पर्कविहीन भएका तथा लागुऔषध वा मद्यपानको लतका कारण सडक जीवन बिताउन बाध्य भएका व्यक्तिहरूलाई मानवसेवा आश्रमले उद्धार गरी सुरक्षित संरक्षणमा राख्दै आएको छ।
नेपालमा उद्धार भई मानवसेवा आश्रमको संरक्षणमा रहेका भारतीय नागरिकलाई भारतमा पुनर्मिलन गराउने तथा भारतमा उद्धार भएका नेपाली नागरिकलाई मानवसेवा आश्रममार्फत नेपालमा पारिवारिक पुनर्मिलन गराउने सम्बन्धमा श्रद्धा फाउन्डेसन र मानवसेवा आश्रमबीच गत असार ३० गते हेटौँडामा सम्झाैता भएकाे थियाे ।
मानवसेवा आश्रम खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी व्यक्तिहरूको जीवनमा आशा र भरोसा जगाउँदै मानव सेवामा निरन्तर समर्पित रहँदै आएको छ।