काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न शाखाद्वारा मंसिर महिनाको तेस्रो साता देशका विभिन्न स्थानबाट ३३ जना सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार गरिएको छ। जसमध्ये सबैभन्दा धेरै काठमाडौँस्थित रानीवन शाखाले ९ जना र रूपन्देहीको तिलोत्तमा शाखाले ८ जनाको उद्धार गरेको आश्रमले जनाएको छ।
आश्रमका अभिभावक, अभियन्ता, स्थानीयवासी, नेपाल प्रहरी, नगर प्रहरी तथा स्वयंसेवीहरूको सहकार्यमा सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूलाई उद्धार गरी विभिन्न शाखामा सुरक्षित आश्रय प्रदान गरिएको हो।
यसै अवधिमा २५ जना आश्रितहरूको पारिवारिक पुनर्मिलन पनि गराइएको आश्रमले जनाएको छ। पुनर्मिलनमा रानीवन शाखाबाट मात्र ९ जनालाई घरमै पुगी परिवारको जिम्मा लगाइएको छ। आश्रमका रहँदै आएका आश्रितहरूको आग्रहमा पारिवारिक पृष्ठभूमि पत्ता लगाइ आश्रमको आवश्यक प्रक्रिया पूरा गरी परिवारिक पुनर्मिलन कार्य अगाडि बढाइन्छ ।
मानवसेवा आश्रमले सहयोगापेक्षी, बेसहारा, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलन कार्यलाई निरन्तरता दिँदै आएको छ ।
आश्रमले २०८२ सालभित्र नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र’ घोषणा गर्ने लक्ष्य राखेको छ। हाल आश्रमले सातै प्रदेशका २१ जिल्लामा २९ शाखा विस्तार गरी ७७ वटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित व्यक्तिको उद्धार तथा मानवोचित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्दै देशभर सक्रिय रूपमा सेवा प्रदान गरिरहेको छ।