तिलोत्तमा । मानवसेवा आश्रम तिलोत्तमा सेवाकेन्द्र एकजना पुरुषको उद्धार गरिएको छ । नामथर समेत बताउन नसक्ने उहाँको शुद्धोदन गाउँपालिका-६ वडा कार्यालयको समन्वयमा तिलोत्तमा भैरहवा सडक खण्डबाट उद्धार गरी तिलोत्तमा सेवाकेन्द्रको संरक्षणमा राखिएको छ । मानसिक रूपमा कमजोर उहाँको ठेगाना समेत खुल्न सकेको छैन ।
परिवार सम्पर्कमा नआएसम्म उपचार र संरक्षण गर्ने आश्रमले जनाएको छ भने एक महिनादेखि तिलोत्तमा भैरहवा सडक खण्डबाट बेवारिसे अवस्थामा रहेका कारण उहाँको उद्धार गरिएको वडाध्यक्ष कमलेश शरण चौधरीले बताउनु भएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।