बुटवल । मानवसेवा आश्रम तिलाेत्तमाकाे पहलमा विभिन्न समयमा उद्धार गरिएका तीन जना सडकआश्रित मानवको पारिवारिक पुनर्मिलन भएको छ।
बाणगंगा नगरपालिका–१०, पूर्व–पश्चिम राजमार्गबाट असार २६ गते इलाका प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएका बुद्धभूमि नगरपालिका–१, चफेला स्थायी घर भएका २३ वर्षीय विक्रमकाे घरपरिवारसँग सम्पर्क गरी पारिवारिक पुनर्मिलन गरिएकाे छ ।
त्यस्तै, असोज ९ गते बुटवल उपमहानगरपालिका–५, बसपार्कबाट इलाका प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएका ३६ वर्षीय ओमबहादुर पारिवारिक पुनर्मिलन भएको छ। बागलुङ स्थायी घर भएका ओमबहादुरलाई काउन्सिलिङपछि घरपरिवारसँग सम्पर्क गरी परिवारको जिम्मा लगाइएको हो।
यसैगरी, असार २ गते सैनामैना नगरपालिका–५, दोघराबाट उद्धार गरिएकी ३६ वर्षीया गिता भट्टराईको पनि परिवारसँग पुनर्मिलन सम्पन्न भएको छ।
परिवारबाट टाढिएका तथा सडकमा आश्रित बन्न पुगेका व्यक्तिहरूको उद्धार, संरक्षणतथा परिवार खोजी गर्दै पुनर्मिलन गराउने कार्यमा मानवसेवा आश्रमले निरन्तर पहल गर्दै आइरहेकाे छ ।
मानवसेवा आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेकाे हो ।