काठमाडौँ । मानवसेवा आश्रमले असोजको पहिलो साता देशका विभिन्न स्थानबाट ४० जना बेवारिसे सडकआश्रित मानवको उद्धार गरी संरक्षण प्रदान गरेको छ। सडक, चोक, बसपार्क र सार्वजनिक स्थलमा असहाय अवस्थामा भेटिएकाहरूलाई आश्रमले उद्धार गरी सुरक्षित आश्रय उपलब्ध गराएको हो।
उद्धार गरिएका सबैलाई आश्रमले आवास, खाना, लुगाफाटा, स्याहारसुसार र आवश्यक स्वास्थ्य उपचारसहितको संरक्षण प्रदान गरेको छ। सडकमा वर्षौँदेखि कठिन जीवन बिताइरहेका, रोग, चिसो र भोकले पीडित मानवलाई आश्रयमा ल्याएर सम्मानजनक जीवनको अवसर दिने प्रयास आश्रमले निरन्तर गरिरहेकाे छ ।
त्यस्तै आश्रमले सोही अवधिमा परिवार खोजी गरी २३ जनाको पारिवारिक पुनर्मिलन सम्पन्न गरेको छ। लामो समयदेखि परिवारसँग सम्पर्कविहीन भएका र बेवारिसे अवस्थामा रहेका उनीहरू आफ्ना आफन्तसँग पुनः जोडिएका छन्।
आश्रमकाअनुसार उद्धार गरिएकाहरूको पहिचान, ठेगाना र परिवारबारे जानकारी लिने प्रक्रियामार्फत परिवार खोजी गरिन्छ। परिवारको पहिचान भएपछि सम्बन्धित स्थानीय निकाय र आफन्तसँग समन्वय गरी सुरक्षित रूपमा घरसम्म पुर्याउने गरिन्छ ।
मानवसेवा आश्रमले उद्धारदेखि संरक्षण, उपचार, परिवार खोजी र पुनर्मिलनसम्मको यो अभियान निरन्तर सञ्चालन गर्दै आएको छ। आश्रमले समाजका असहाय तथा बेवारिसे मानवलाई उद्धार गरी सम्मानजनक जीवनयापनका लागि वातावरण उपलब्ध गराउँदै आइरहेकाे छ ।